काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तोकतान्त्रिक गणतन्त्रको रक्षा गर्न सकिए मात्र जनताको अवस्थामा परिवर्तन आउने बताएका छन्।
१९ औँ गणतन्त्र दिवसका अबसरमा शुक्रबार सामाजिक सञ्जालबाट शुभकामना दिँदै पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले लोकतान्त्रिक गणतन्त्र नभए केके गुमाउनु पर्छ भन्ने कुरा गणतन्त्र नरहेका बेलामा मात्रै समाजले महसुस गर्ने पनि बताएका छन्।
जनताले आफ्ना लागि आफैँले शासनप्रणाली निर्धारण गर्ने गणतान्त्रिक अधिकार प्राप्त गर्न सात दशकभन्दा लामो संघर्ष गर्नु परेको पनि स्मरण गरेका छन्।
‘बोल्ने, लेख्ने, संगठित हुने र राजनीतिक विचार राख्ने अधिकार प्राप्त गर्ने क्रममा हजारौं अग्रजहरुले जीउज्यान अर्पण गर्नु पर्यो। कयौंले दशकौं लामो जेलनेल, यातना र निर्वासन समेत भोग्नु पर्यो,’ शुभकामना सन्देशमा ओलीले भनेका छन्, ‘जनताको धेरै ठूलो संघर्ष र बलिदानपछि हुकुमबाट चल्ने प्रणाली फ्याँकियो, कानुनबाट चल्ने प्रणाली स्थापना भयो। व्यक्तिको इच्छाबाट चल्ने शासनको सट्टा, लोकतान्त्रिक अङ्ग र संरचनाहरूबाट सञ्चालन हुने पद्धति सुरू भयो।’
ओलीले गणतान्त्रिक प्रणालीको लामो अभ्यास भएका मुलुकहरूको तुलनामा नेपालले छोटो समय मात्रै त्यसको अभ्यास गरेको बताएका छन्।
‘यो छोटो समयमा गणतान्त्रिक संस्कार, संस्थागत संरचना र तदनुरूप जनताको सेवा गर्ने सामर्थ्य विकास गर्नु अवश्य पनि सजिलो काम होइन।तर पनि यस बीचमा सामाजिक र भौतिक विकासमा ठूलो मात्रा र गुणमा विकास भएको तथ्यांक छ,’ उनले लेखेका छन्, ‘गणतन्त्र( शासन प्रणाली परिवर्तनको मात्रै विषय थिएन, यो नेपाली समाजको चेतनामा आएको गहिरो रूपान्तरण पनि थियो। शताब्दीयौँसम्म ुप्रजाु भएर बाँचेको समाज, आफैंले बनाएको संविधानमार्फत सार्वभौम नागरिकमा रूपान्तरित भएको थियो। परिवर्तित अभ्यासमा परिपक्वता आउन अवश्य पनि लामो समय लाग्छ, हामीले पनि त्यस्तै अनुभव गरेका छौं।’
आज गाउँगाउँमा पुगेको स्थानीय सरकार र राज्यको साधनस्रोत, राज्यका हरेक तहमा बढेको महिला, दलित, जनजाति, मधेशी र पिछडिएको समुदायको प्रतिनिधित्व र सहभागिता, खुला अभिव्यक्ति, नागरिक स्वतन्त्रता, सेवामा डिजिटल पहुँच, सडक र सञ्चारको विस्तार जस्ता सबै परिवर्तन आकस्मिक रूपमा स्थापित नभएका भन्दै उनले यी सबै गणतन्त्रका उपलब्धि भएका बताएका छन्।
‘यद्यपि परिवर्तनको गति हामीले चाहेजति तीब्र हुन सकेको छैन। त्यस्तो गति सामाजिक चेतनामा भर पर्छ। चाहेजति गतिमा परिवर्तन हुन नसक्दा प्रणालीसँगै असन्तुष्टि हुन पनि सक्छ, तर ती असन्तुष्टिको वैधानिक रूपमा सम्बोधन गर्न पनि गणतान्त्रिक प्रणाली नै चाहिन्छ,’ ओलीको सन्देशमा भनिएको छ।
‘त्यसैले, यस व्यवस्थाको रक्षा गर्न सकिए मात्र जनताले अवस्था परिवर्तन गर्न पाउँछन्। लोकतान्त्रिक व्यवस्था र लोकप्रिय नारा बीचको भिन्नता समाजले तत्काल होइन, जीवन भोगाइको नतिजामा बिस्तारै थाहा पाउने कुरा हो,’ ओलीले भनेका छन्, ‘जनताको निराशाबाट लाभ लिन संस्थामाथि अविश्वास रोप्ने र भावनालाई दुरुत्साहन गरेर लोकतान्त्रिक संरचनालाई कमजोर बनाउने प्रवृत्तिबाट लोकतान्त्रिक अधिकार कमजोर बन्ने तथा अधिनायक तन्त्र हुर्किने जोखिम रहन्छ।’
उनले संविधान, संसद, न्यायपालिका र स्वतन्त्र प्रेसको अधिकारक्षेत्रको अनतिक्रम्यता र रक्षा नै, यसबेला समग्रमा गणतन्त्रको रक्षा भएको बताएका छन्।
‘लोकतान्त्रिक गणतन्त्र नभए केके गुमाउनु पर्छ भन्ने कुरा गणतन्त्र नरहेका बेला मात्रै समाजले महसुस गर्न पाउँछ, जुन हाम्रो अघिल्लो पुस्ताले भोगेको थियो,’ उनले भनेका छन्, ‘लोकतन्त्रका यी संस्थाहरू कमजोर भए भने कुनै पनि समाज बलियो रहँदैन, जनताले सुख पनि पाउँदैनन् । तसर्थ, लोकतान्त्रिक गणतन्त्रका यी अङ्गहरूको रक्षा गर्नु भनेको हामी सबैको भविष्यको रक्षा गर्नु हो।’
उनले गणतन्त्र दिवसको यस पवित्र दिनमा उद्वेलित नभइकन, शान्त मनले लोकतन्त्र प्राप्तिका लागि गरिएका कठोर संघर्ष सम्झन र लोकतन्त्र कमजोर भयो भने भविष्य कस्तो होला भनेर चिन्तन गर्न म सबैमा आह्वान पनि गरेका छन्।


