काठमाडौं । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको बजेटपछिको छलफल कार्यक्रममा बोल्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षका लागि ल्याइएको २१ खर्ब २४ अर्ब रुपैयाँको बजेटलाई कतिपयले महत्वाकांक्षी भने पनि देशको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को तुलनामा यो सानो रहेको बताएका छन्।
उनले नेपालको जीडीपी ७४ खर्ब रुपैयाँ नाघ्ने अनुमान गरिएको उल्लेख गर्दै सरकारले जीडीपीको तुलनामा बजेट सानो ल्याएको बताए । “सापेक्ष रूपमा हेर्दा यो बजेट जीडीपीको तुलनामा ठूलो होइन,” उनले भने।
अर्थमन्त्री वाग्लेले सरकारले अत्यधिक ऋण लिएको भन्ने टिप्पणीप्रति असहमति जनाउँदै ६५० अर्ब रुपैयाँ ऋण लिइएको भनिए पनि त्यसको आधाभन्दा बढी हिस्सा पुरानो ऋण तिर्नमै खर्च हुने बताए। उनका अनुसार सरकारले ४१० अर्ब रुपैयाँ नयाँ ऋण लिने तयारी गरेको छ भने २७० अर्ब रुपैयाँ पुरानो ऋण भुक्तानी गर्नेछ।
“नेट ऋणको आकार निकै कम छ। हामीले आन्तरिक स्रोतबाट पनि पर्याप्त राजस्व उठाउने लक्ष्य राखेका छौं,” उनले भने। यस वर्ष सरकारले १५ खर्ब ८० अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य निर्धारण गरेको जानकारी पनि उनले दिए।
ऋणको अवस्थाबारे चर्चा गर्दै उनले कुनै देशको ऋणको भार मूल्याङ्कन गर्दा ‘डेब्ट–टु–जीडीपी’ अनुपात हेर्नुपर्ने बताए। हाल नेपालको डेब्ट–टु–जीडीपी अनुपात करिब ४३ प्रतिशत रहेको उल्लेख गर्दै उनले यो चिन्ताजनक अवस्थामा नरहेको दाबी गरे।
“६०० अर्ब रुपैयाँ ऋण छ भन्दैमा डराउनुपर्ने अवस्था छैन। तर, विगतका दायित्वहरूले भने केही दबाब सिर्जना गरेका छन्,” उनले भने।
पूर्वाधार विकासका विषयमा बोल्दै अर्थमन्त्री वाग्लेले मध्यपहाडी लोकमार्गको निर्माण कार्य छिट्टै सम्पन्न गर्नुपर्ने आवश्यकता औंल्याए। साथै, सुनकोशी परियोजना पुनः अघि बढाउनुपर्ने र आगामी दिनमा एक हजार किलोमिटर सडकलाई चार लेनमा विस्तार गर्ने योजना रहेको जानकारी दिए।


