काठमाडौं । जगदम्बा मोटर्स प्रा. लि. ले नेपालमा TVS मोटर कम्पनीको प्रिमियम मोटरसाइकल लाइनअप विस्तार गर्दै दुई नयाँ भेरियन्ट-TVS रोनिन मोनोटोन (Monotone) र TVS रोनिन एगोन्डा (Agonda) सार्वजनिक गरेको छ । आधुनिक डिजाइन, क्रुजिङ शैली र नयाँ राइडिङ अनुभवलाई जोड दिँदै यी मोडेलहरू नेपाली बजारमा प्रवेश गरेका हुन्।
काठमाडौंको ठमेलस्थित क्लब नोभामा आयोजित विशेष कार्यक्रममा सार्वजनिक गरिएका यी भेरियन्टहरूले TVS रोनिन सिरिजलाई थप आकर्षक र प्रतिस्पर्धी बनाएको कम्पनीले जनाएको छ ।
नयाँ मोनोटोन भेरियन्ट लाइटनिङ ब्ल्याक र म्याग्मा रेड रङमा उपलब्ध छ भने यसको मूल्य रु. ४,२९,९०० (एक्स–शोरुम, नेपाल) तोकिएको छ । त्यस्तै, TVS रोनिन एगोन्डा पर्ल ह्वाइट रङमा उपलब्ध हुनेछ र यसको मूल्य रु. ४,३९,९०० (एक्स–शोरुम) रहेको छ ।
एगोन्डा भेरियन्ट भारतको गोवास्थित प्रसिद्ध अगोन्डा बीचबाट प्रेरित डिजाइनमा आधारित रहेको कम्पनीले जनाएको छ । बालुवा र समुद्री वातावरण झल्काउने सेतो बेस डिजाइन, नीलो–रातो रेट्रो स्ट्राइप र एलईडी टी–शेप हेडलाइट यसको विशेषता हो । यसले रोनिनलाई कस्टम–प्रेरित प्रिमियम लुक दिएको छ ।
प्राविधिक पक्षमा, दुवै भेरियन्टमा २२५.९ सीसी इन्जिन जडान गरिएको छ, जसले ७,७५० RPM मा २०.४ PS पावर र ३,७५० RPM मा १९.९३ Nm टर्क प्रदान गर्छ । ग्लाइड थ्रु टेक्नोलोजी (GTT), असिस्ट एन्ड स्लिपर क्लच र ४१ एमएम USD फ्रन्ट सस्पेन्सन जस्ता विशेषताले राइडिङलाई सहज र स्थिर बनाउने कम्पनीको दाबी छ ।
TVS मोटर कम्पनीले यी मोडेलमार्फत नेपाली युवामाझ प्रिमियम क्रुजिङ मोटरसाइकल खण्डलाई अझ विस्तार गर्ने लक्ष्य लिएको जनाएको छ । कम्पनीका अनुसार TVS रोनिन सिरिजले आधुनिक शैली, व्यक्तित्व र सहज राइडिङ अनुभवको संयोजन प्रस्तुत गर्छ ।
जगदम्बा मोटर्स नेपालमा TVS ब्रान्डको एकमात्र आधिकारिक वितरक हो। कम्पनीले लामो समयदेखि देशभर बिक्री–सेवा सञ्जाल विस्तार गर्दै अटोमोबाइल बजारमा योगदान दिँदै आएको छ ।


