CLI

विश्वकप अगाडि फुटबलका कहि नियमहरुमा परिवर्तन

काठमाडौं । फिफा विश्वकप २०२६ सुरु हुन केही हप्ता मात्र बाँकी रहँदा फुटबलको नियम बनाउने अन्तर्राष्ट्रिय निकाय ‘अन्तर्राष्ट्रिय फुटबल संघ बोर्ड’ (IFAB) ले खेलका नियमहरुमा ऐतिहासिक परिवर्तनको घोषणा गरेको छ।

यी नयाँ नियमहरु आउँदो विश्वकपका साथै सन् २०२६-२०२७ को सिजनदेखि पूर्ण रुपमा लागू हुनेछन्। यी संशोधनहरुको मुख्य उद्देश्य खेल मैदानमा हुने विभेदको अन्त्य गर्ने, समय बर्बाद गर्ने प्रवृत्तिलाई रोक्ने, खेलको गति बढाउने र खेलाडी तथा प्रशंसक दुवैको अनुभवलाई सुधार्नु रहेको छ।

विश्वकप र आगामी सिजनदेखि लागू हुने मुख्य नयाँ नियमहरु यस प्रकार छन्:

विवादको समयमा मुख छोपेमा रेड कार्ड

अबदेखि मैदानमा तनावपूर्ण वा विवादको स्थितिमा कुनै खेलाडीले आफ्नो हात, पाखुरा वा जर्सीले मुख छोपेमा सिधै ‘रेड कार्ड’ पाउनेछन्। यद्यपि, विपक्षी टोलीमा रहेका आफ्ना पुराना क्लबका साथीहरुसँग मैत्रीपूर्ण कुराकानी गर्दा मुख छोपेमा भने कुनै सजाय हुने छैन।

विरोध स्वरुप मैदान छोड्न नपाइने

रेफ्रीको निर्णयप्रति असन्तुष्टि जनाउँदै वा विरोध गर्न मैदान बाहिरिने खेलाडीलाई सिधै रेड कार्ड दिइनेछ। खेलाडीहरुलाई मैदान छोड्न उक्साउने टोलीका अन्य अफिसियल (प्रशिक्षक वा व्यवस्थापक) लाई पनि यो नियम लागू हुनेछ। साथै, विरोधका कारण खेल नै रद्द गराउने टोलीले उक्त खेल स्वतः हारेको (Forfeit) मानिनेछ।

थ्रो-इन र गोल-किकका लागि ५ सेकेन्डको काउन्टडाउन

समय बर्बाद गर्ने प्रवृत्ति रोक्न अब रेफ्रीले हात उठाएर ५ सेकेन्डको ‘भिजुअल’ (देखिने गरी) काउन्टडाउन सुरु गर्नेछन्। यदि ५ सेकेन्डभित्र थ्रो-इन नगरिएमा विपक्षी टोलीलाई थ्रो-इनको अवसर दिइनेछ। त्यस्तै, तोकिएको समयभित्र गोल-किक प्रहार नगरिएमा विपक्षी टोलीले कर्नर किकको अवसर पाउनेछ। खेलाडी परिवर्तन (सब्स्टिच्युसन) को नयाँ नियम

खेलाडी परिवर्तनको बोर्ड देखाएपछि मैदान बाहिरिने खेलाडीसँग केवल १० सेकेन्डको समय हुनेछ र उनीहरु मैदानको सबैभन्दा नजिकको बाउन्ड्री लाइनबाट बाहिरिनु पर्नेछ। यदि खेलाडी १० सेकेन्डभित्र बाहिरिएन भने, उनको सट्टामा मैदान छिर्ने नयाँ खेलाडीले खेल पुनः सुरु भएको एक मिनेटपछि र रेफ्रीको इसारापश्चात् पहिलो ‘स्टपेज’ मा मात्र प्रवेश गर्न पाउनेछ। खेलाडी घाइते भएको वा सुरक्षाको गम्भीर कारण भएमा मात्र यसमा छुट दिइनेछ।

मैदान बाहिरको उपचार (Off-field Treatment)

यदि कुनै खेलाडीको उपचारका लागि मेडिकल स्टाफ मैदान भित्र प्रवेश गर्छन् भने, खेल पुनः सुरु भएपछि ती आउटफिल्ड खेलाडीले अनिवार्य रुपमा कम्तीमा एक मिनेट मैदान बाहिरै बस्नुपर्नेछ। तर गोलकिपर घाइते भएमा, गोलकिपर र अन्य खेलाडी आपसमा ठोक्किएमा, एउटै टोलीका खेलाडीहरु ठोक्किएर गम्भीर चोट लागेमा (जस्तै कन्कसन वा टाउकोको चोट) वा घाइते खेलाडी आफैँले पेनाल्टी प्रहार गर्ने भएमा यो नियम लागू हुने छैन।

हाइड्रेशन ब्रेक (पानी पिउने समय)

अत्यधिक गर्मी र खेलाडीको स्वास्थ्यलाई ध्यानमा राख्दै अब प्रत्येक खेलको दुवै हाफमा ३–३ मिनेटको ‘हाइड्रेशन ब्रेक’ दिइनेछ। यो ब्रेक सामान्यतया खेलको २२औँ मिनेटको आसपासमा हुनेछ, तर रेफ्रीलाई खेलको अवस्था अनुसार यसको समय थोरै तलमाथि गर्ने लचकता दिइएको छ।

 गोलकिपरको उपचारका क्रममा ‘टाइमआउट’ मा रोक

खेलका दौरान यदि गोलकिपर घाइते भएर मैदानभित्रै उपचार भइरहेको छ भने, दुवै टोलीका खेलाडीहरुलाई मैदानको छेउमा गएर आ-आफ्ना प्रशिक्षकहरुसँग रणनीति बनाउने वा ‘टाइमआउट’ लिने अनुमति दिइने छैन। उनीहरु खेल मैदानभित्रै रहनुपर्नेछ।

Leave Your Comment

Related News