काठमाडौं । प्रधानमन्त्री बालेन शाहले द्विपक्षीय सीमा विवादका विषयमा दिएको अभिव्यक्तिप्रति भारतले मंगलबार प्रतिक्रिया जनाएको छ।
भारतले नेपाल–भारतबीचका सीमा लगायत सबै द्विपक्षीय विषय दुई देशबीचकै संयन्त्रमार्फत समाधान हुने र त्यसमा कुनै तेस्रो पक्षको भूमिका नहुने स्पष्ट पारेको छ।
भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले नियमित पत्रकार सम्मेलनमा बोल्दै नेपालका प्रधानमन्त्रीले सीमा समस्याबारे चीन र बेलायतसँग पनि संवाद गरिरहेको बताएको विषयमा प्रतिक्रिया दिएका हुन्।
‘भारत–नेपाल सीमाको सम्बन्धमा नेपालका प्रधानमन्त्री र परराष्ट्र मन्त्रालयबाट आएका अभिव्यक्तिहरू हामीले सुनेका छौँ। भारत–नेपाल सीमाको करिब ९८ प्रतिशत हिस्सा निर्धारण भइसकेको छ,’ जैसवालले भने, ‘केही स्थानमा गण्डक नदीको बहाव परिवर्तनका कारण सीमा सम्बन्धी समस्या देखिएको छ।’
उनका अनुसार सीमा निर्धारण भइसकेका क्षेत्रमा सीमापार अतिक्रमण तथा नो म्यान्स ल्यान्डमा हुने अतिक्रमणका विषय पनि दुवै देशले संयुक्त रूपमा समाधान गर्ने प्रयास गरिरहेका छन्।
‘सीमासम्बन्धी बाँकी रहेका सबै विषय समाधान गर्न भारत र नेपालबीच द्विपक्षीय संयन्त्र स्थापित छ। त्यसैले भारत र नेपालबीचका सबै द्विपक्षीय मामिलामा कुनै पनि तेस्रो पक्षको भूमिका छैन भन्ने कुरा स्पष्ट हुन आवश्यक छ,’ उनले भने।
भारतको यो प्रतिक्रिया नेपालका प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल–भारत सीमा समस्याबारे विभिन्न अन्तर्राष्ट्रिय साझेदारहरूसँग पनि संवाद भइरहेको उल्लेख गरेको सन्दर्भमा आएको हो। भारतले भने सीमा विवाद समाधानका लागि स्थापित द्विपक्षीय संयन्त्र नै उपयुक्त माध्यम रहेको धारणा दोहोर्याएको छ।
नेपाल–भारत सीमा सम्बन्धी विषय बेलाबेलामा राजनीतिक तथा कूटनीतिक बहसको केन्द्र बन्दै आएको छ। विशेषगरी कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रसँग सम्बन्धित विवादित मुद्दाहरू अझै पूर्ण रूपमा टुंगिन बाँकी छन्।


