काठमाडौं । सरकारले पछिल्लो समय विद्युतीय इन्धन खपत बढ्दै जाँदा पेट्रोलियम पदार्थको आयात घटाएको बताएको छ । कुल खपतमा करिब १० प्रतिशतले पेट्रोलियम पदार्थको खपत घटाएको हो ।
वाणिज्य मन्त्रालयका अनुसार विद्युतीय इन्धनका कारण पेट्रोलियम पदार्थ तथा इन्धनको खपत करिब ८ देखि १० प्रतिशतले घटेको हो । आर्थिक वर्ष २०८१/८२ को ८ महिनामा ४८७ हजार किलोलिटर र चालु आवको २०८२/८३ को ८ महिनामा ४३८ हजार किलोलिटर पेट्रोल अयात भएको छ । आर्थिक वर्ष २०८१/८२ को ८ महिनामा ८७८ हजार किलोलिटर र चालु आवको २०८२/८३ को ८ महिनामा ७९१ हजार किलोलिटर डिजेले अयात भएको छ ।
आर्थिक वर्ष २०८१/८२ को ८ महिनामा १३९ हजार किलोलिटर र चालु आवको २०८२/८३ को ८ महिनामा १२७ हजार किलोलिटर हवाई इन्धन (एटीएफ) अयात भएको छ ।
आर्थिक वर्ष २०८१/८२ को ८ महिनामा ४७१ हजार किलोलिटर र चालु आवको २०८२/८३ को ८ महिनामा ४४१ हजार किलोलिटर पेट्रोल बिक्री भएको छ । आर्थिक वर्ष २०८१/८२ को ८ महिनामा ८५६ हजार किलोलिटर र चालु आवको २०८२/८३ को ८ महिनामा ७८२ हजार किलोलिटर डिजेले बिक्री भएको छ ।
आर्थिक वर्ष २०८१/८२ को ८ महिनामा १४० हजार किलोलिटर र चालु आवको २०८२/८३ को ८ महिनामा १२७ हजार किलोलिटर हवाई इन्धन (एटीएफ) बिक्री भएको छ । विद्युतीय सवारी साधन बढे सँगै विद्युतीय इनर्जीको खपत बढेको कारण पेट्रोलियम पदार्थ अर्थात् पेट्रोल र डिजेलेको आयात र बिक्री घटेको वाणिज्य मन्त्रालयका सहसचिव नेत्र प्रसाद सुवेदीले बताएका छन् । ‘हाल विजुली उत्पादन पनि बढेको छ भने बिद्युतीय सवारी साधानको प्रयोग समेत बढेको छ ,’ उनले भने,‘विद्युतीय सवारी साधानको प्रयोग बढ्दै जाँदा पेट्रोल र डिजेल आवश्यक नपर्ने हुँदा पेट्रोलियम पदार्थको आयात र बिक्री वितरण घटेको हो ।’
चालु आर्थिक वर्षको फागुनसम्म पेट्रोल, डिजेल लगायत सबै प्रकारका पेट्रोलियम पदार्थको आयात र बिक्री परिमाणमा कमी आएको छ। कुल इन्धन खपतमा विद्युत्को हिस्सा बढ्दै गएसँगै पेट्रोलियम पदार्थको आयात र बिक्री परिमाण दुवै घटेको विभागले जनाएको छ।
पेट्रोल, डिजेल र हवाई इन्धन मात्र नभई मट्टितेल र खाना पकाउने एलपीजी ग्यासको आयात समेत घटेको छ । आर्थिक वर्ष २०८१/८२ को ८ महिनामा १० हजार किलोलिटर र चालु आवको २०८२/८३ को ८ महिनामा ५ हजार किलोलिटर मट्टितेल अयात भएको छ । आर्थिक वर्ष २०८१/८२ को ८ महिनामा ३६३ हजार किलोलिटर र चालु आवको २०८२/८३ को ८ महिनामा ३२२ हजार किलोलिटर पेट्रोल अयात वितरण भएको छ । आयात घटे सँगै बिक्री पनि घटेको देखिन्छ । यसमा पनि विद्युतीय चुल्हो लगायतका सामग्री प्रयोगको कारण भएको बताइएको छ ।
त्यस्तै, पेट्रोल, डिजेल र हवाई इन्धन लगायतका सामग्रीको आयात र खपत घटरिहँदा सरकार भने यसमा सुधार गर्दै लैजाने तयारीमा लागेको छ । यसका लागि पेट्रोल र डिजेलमा इथानोल मिसाउने कुरा भइरहेको सहसचिव सुवेदीले जानकारी दिए । ‘हामीले पेट्रोलियम पदार्थमा इथानोल मिसाँउदा यसको आपूर्ति घटाउदै लैजान सकिन्छ ,’ उनले भने, ‘यी कारणले गर्दा मुलुकमा उत्पादन भएको इन्धन खपत हुनेछ ।’
पेट्रोलियम पदार्थ आयात गर्दा वार्षिक अबौं रकम बाहिरिने गरेको छ । भन्सार विभागको तथ्यांक अनुरुप चालु आवको ८ महिनामा ८२ अर्ब १० करोड ५१ लाखको ८ लाख ९६ हजार किलोलिटर डिजेल, ४३ अर्ब ८९ करोड ७३ लाखको ५ लाख ११ हजार किलोलिटर पेट्रोल र ३७ अर्ब ३१ करोड ३७ लाखको ३७ करोड २२ किलोग्राम खाना पकाउने ग्यास आयात गरिएको छ । आर्थिक वर्ष २०८१/८२ मा १ खर्ब २८ अर्ब ७६ करोड १६ लाखको डिजेल, ६४ अर्ब १२ करोड ७४ लाखको पेट्रोल र ६२ अर्ब ५८ करोड ७२ लाखको खाना पकाउने ग्यास आयात गरिएको छ । यसरी पेट्रोलियम पदार्थमा वार्षिक रुपमा खर्बौ रकम बाहिर गइरहेको छ , यदि पेट्रोलियम पदार्थको सट्टा विद्युत इन्धन खपत गरेमा अबौं रकम जोगिन पुग्ने जानकारहरु बताउछन् । त्यसैले गर्दा मुलुकमा उत्पादन हुने विद्युतीय इन्धनको उत्पादन र प्रयोग बढाउदै लैजान सरकार लास्नु पर्ने उनीहरु बताउछन् ।



