काठमाडौं । एमाले अध्यक्ष एवम पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भदौ २३ र २४ को घटना क्रान्तिको आवरणमा रचिएको आपराधिक षड्यन्त्र भएको आरोप लगाएका छन् । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् ।
उनले भदौ २३ र २४ गतेको घटनालाई कसैले ‘आन्दोलन’ त कसैले ‘क्रान्ति’ को जामा पहिराउने कोसिस गरिरहेका बताए ।
नेपाली राजनीतिको पछिल्लो कालखण्डमा घटेको गत भदौ २३ र २४ गतेको घटनालाई कसैले ‘आन्दोलन’ त कसैले ‘क्रान्ति’ को जामा पहिराउने कोसिस गरिरहेका छन्। यो स्वाभाविक पनि हो, किनभने आपराधिक गतिविधि गर्नेहरुले आफ्नो अपराधलाई लुकाउन सधैँ ‘क्रान्ति’ कै कवच प्रयोग गर्ने गर्छन्। युवा र नवयुवाहरुको रगत बगाउने, उनीहरुको हत्याको प्रपञ्च रच्ने र देशमा आतंकको राज फैलाउने क्रियाकलापलाई उनीहरुले क्रान्ति नभनेर के भनुन् ! आपराधिक क्रियाकलापको योजना आफैँ बुन्ने, काँक्रा आफू खाने र बियाँ अरुको गालामा टाँसेर आरोप लगाउने प्रवृत्ति नेपाली राजनीतिको क्यान्सर बनिसकेको छ, ’ उनले भने ,‘ तर, यथार्थ के हो भने भदौ २३ र २४ गतेका घटनाहरु कुनै श्वतस्फूर्त जनआन्दोलन वा क्रान्ति थिएनन्। त्यो नितान्त एउटा षड्यन्त्रपूर्ण र पूर्वनियोजित आपराधिक घटना थियो। यो दाबी मेरो मात्र व्यक्तिगत भनाइ होइन। राज्यकै जिम्मेवार निकाय, राष्ट्रिय मानवअधिकार आयोगले भर्खरै सार्वजनिक गरेको आफ्नो प्रतिवेदनको सारसंक्षेपमा स्पष्ट रुपमा उल्लेख गरेको छ कि भदौ २३ र २४ गतेका घटनाहरु पूर्वनियोजित र पहिले नै गहिरो षड्यन्त्र बुनिएको प्रायोजित घटना थिए। ’
ओलीले भदौ २३ र २४ गतेका षड्यन्त्र लोकतन्त्रका विरुद्ध र मुख्य रुपमा हाम्रा विरुद्ध भएको बताए । ‘ त्यो षड्यन्त्र कसका विरुद्ध थियो ? स्पष्ट छ, त्यो षड्यन्त्र लोकतन्त्रका विरुद्ध थियो र मुख्य रुपमा हाम्रा विरुद्ध थियो। किनकि हामी संवैधानिक र लोकतान्त्रिक हिसाबले अत्यन्त बलियो अवस्थामा थियौँ। हामी जनताको जनमतबाट निर्वाचित, अत्यधिक बहुमत प्राप्त सरकारको नेतृत्व गरिरहेका थियौँ। जननिर्वाचित त्यस सरकारलाई संवैधानिक, कानुनी र संसदीय बाटोबाट ढाल्ने अनेकौँ प्रयासहरु भए। संसदभित्रका सबै तिकडमहरु असफल भए। जब लोकतान्त्रिक विधिबाट सरकारलाई विस्थापन गर्न सम्भव भएन, त्यसपछि असंवैधानिक, अलोकतान्त्रिक र आपराधिक मार्ग अख्तियार गर्दै मुलुकमा हिंसा र आगजनीको सहारा लिइयो,’उनले भने ।
ओलीले आन्दोलनको सामान्य आगोलाई पनि अति उच्च तापक्रममा दन्किने कसरी बनाउने भन्ने जस्ता विध्वंसकारी तालिमहरु दिइएको बताए । ‘ त्यस उपद्रवका लागि लामो समयदेखि तयारी र तालिमहरु सञ्चालन गरिएका थिए। सडकमा कसरी आगो लगाउने, अत्यन्त प्रज्वलनशील वस्तुहरुको निर्माण कसरी गर्ने, पेट्रोल बमहरु कसरी तयार पार्ने र सामान्य आगोलाई पनि अति उच्च तापक्रममा दन्किने कसरी बनाउने भन्ने जस्ता विध्वंसकारी तालिमहरु दिइएका थिए, ’’उनले भने ।
उनले राष्ट्रव्यापी रुपमा आगलागीका काण्डहरु मच्चाउनका लागि गुगल म्यापको प्रयोग गरियो। कुन नेताको घर कहाँ छ ? कुन व्यापारिक प्रतिष्ठान कहाँ छ ? संसद भवन, सिंहदरबार र सर्वोच्च अदालत जस्ता राज्यका प्रमुख अंगहरु त सबैले देखेका थिए, तर नेताहरुका निजी निवास र नागरिकका सम्पत्तिहरु गल्ली र बस्तीभित्र लुकेका हुन्थे। त्यस्ता ठाउँहरुलाई गुगल म्यापबाट लोकेट गरेर आक्रमणकारीहरुलाई नक्सा वितरण गरिएको थियो। यो कुनै आकस्मिक आक्रोशको विष्फोट थिएन, यो त अघिल्लै दिनदेखिको योजनाबद्ध तयारीको परिणाम बताए ।


