CLI

६ सहकारीलाई १५ दिनभित्र कार्यालय खाली गर्न काठमाडौँ महानगरको निर्देशन

काठमाडौं । काठमाडौँ महानगरपालिकाले विभिन्न ६ वटा सहकारी संस्थालाई आफूले भाडामा लिएको घर, कोठा वा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन दिएको छ। महानगरले तोकिएको अवधिभित्र सम्पर्कमा नआए सम्बन्धित सहकारीका कार्यालय आफैँले खाली गराउने चेतावनीसमेत दिएको छ।

महानगरको कानुन तथा मानव अधिकार विभागले बिहीबार सार्वजनिक सूचना जारी गर्दै न्यायिक समितिको निर्णय कार्यान्वयनका लागि सम्बन्धित सहकारी संस्थाका पदाधिकारी, कर्मचारी तथा सदस्यहरूलाई १५ दिनभित्र महानगरमा सम्पर्क गर्न आग्रह गरेको हो।

महानगरका अनुसार न्यायिक समितिले यसअघि नै ती सहकारीहरूले भाडामा लिएका स्थान खाली गराउनुपर्ने निर्णय गरिसकेको थियो। सो निर्णय कार्यान्वयनका लागि गत जेठ १३ गते बसेको कार्यान्वयन समितिको बैठकले १५ दिने म्यादसहित सार्वजनिक सूचना जारी गर्ने निर्णय गरेको थियो।

सूचनामा तोकिएको समयभित्र सहकारीका सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, कर्मचारी वा सदस्यहरू सम्पर्कमा नआए न्यायिक समितिको निर्णयअनुसार कार्यालय खाली गराइने उल्लेख गरिएको छ। कार्यालय खाली गराउने क्रममा त्यहाँ रहेका सम्पूर्ण सरसामान सम्बन्धित घरधनीको जिम्मा लगाइने र त्यसपछि ती सामग्रीमाथि सहकारीले कुनै दाबी वा विरोध गर्न नपाउने पनि महानगरले स्पष्ट पारेको छ।

महानगरको कारबाही सूचीमा वडा नम्बर ३ मा रहेको सत्कार सहकारी संस्था लिमिटेड, वडा नम्बर १५ को अमृताम्भ बचत तथा ऋण सहकारी संस्था, वडा नम्बर २२ को हिराखुसी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, तथा वडा नम्बर ३२ मा सञ्चालित मार्गदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड, नवल सवल बचत तथा ऋण सहकारी संस्था लिमिटेड र पञ्चरूपा बचत तथा ऋण सहकारी संस्था लिमिटेड रहेका छन्।

सहकारी संस्थाहरूको कार्यालय सञ्चालन र सम्पत्ति व्यवस्थापन सम्बन्धी न्यायिक समितिको निर्णय कार्यान्वयनमा महानगरले कडाइ गरेको भन्दै सम्बन्धित पक्षहरूलाई निर्धारित समयभित्र आवश्यक प्रक्रिया पूरा गर्न आग्रह गरेको छ।

Leave Your Comment

Related News