काठमाडौं । गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरुभएको छ। बागमती प्रदेश सरकारबाट बजेट निकासामा ढिलाइ हुदाँ यसअघि भुक्तानी नपाएको भन्दै निर्माण कम्पनीले एक महिना निर्माण कार्य रोकेको थियो।
बागमती प्रदेश सरकारबाट नौ करोड निकासा भएपछि निर्माण कार्य पुनः सञ्चालन भएको भरतपुर महानगरपालिकाका इञ्जिनियर आदर्श पोखरेलले जानकारी दिए।
महानगरपालिकाका डिभिजन इञ्जिनियर सन्तोष आचार्यले निर्माण कम्पनीलाई बिल अनुसारको भुक्तानी भइसकेको बताए। रङ्गशालाको निर्माणको काम हिमालयन कालिञ्चोक बिबिआर जेभीले गर्दै छ।
ठेक्का सम्झौताको म्याद आगामी पुस २२ गते सकिन्छ। हाल ५५ प्रतिशत काम पूरा भएको छ। विसं २०८१ असारमा भरतपुर महानगरपालिका र निर्माण कम्पनीबीच २०८३ पुस २२ गते काम सक्ने गरी कूल ७५ करोड ५० लाख ९१ हजार १८९ मा सम्झौता भएको थियो।
धुर्मस–सुन्तली फाण्डेशनले काम गर्न नसकेपछि महानगरपालिकाले बोलपत्रमार्फत काम थालेको हो।


