CLI

आइपीओ बिक्री खुला गरेको एभरेष्ट कलर , कस्तो छ कम्पनी ? हेरौं

काठमाडौं । एभरेष्ट कलरले आइपीओ बिक्री खुला गरेको छ । कम्पनीले जेठ २२ गतेदेखि आइपीओ बिक्री खुला गरेको हो । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरेको आइपीओ बाँडफाँट पश्चात दोस्रो चरणमा सर्वसाधारणका लागि सेयर जारी गरेको हो ।

कम्पनीले आफ्नो जारी पुँजी ३० करोडको २६.६६ प्रतिशत अर्थात् ७ करोड ९० लाख रुपैयाँको प्रति सेयर अंकित मूल्य १०० रुपैयाँ दरको ७ लाख ९० कित्ता साधारण सेयर बिक्री गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । जसमध्ये, ७९ हजार कित्ता सेयर  नेपाल सरकारको सम्बन्धित निकायको श्रम स्वीकृती लिई वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि   बाँडफाँट गरिसकेको छ ।

३९ हजार ५ सय कित्ता साधारण सेयर सामूहिक लगानी कोषहरुलाई र १५ हजार ८ सय  कित्ता सेयर कम्पनीका कर्मचारीलाई छुट्याइएको छ । बाँकी रहेको ६ लाख ५५ हजार ७ सय कित्ता सेयर सर्वसाधारणका बिक्री खुला गरेको हो ।

यो निष्कासन बन्द छिटोमा जेठ २७ गते हुनेछ भने ढिलोमा असार ५ गते हुनेछ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन् ।

कस्तो छ रेटिङको अवस्था ?

एभरेष्ट कलरलाई  क्रेडिट रेटिङ्ग संस्था ईक्रा नेपाल लिमिटेडले क्रेडिट रेटिङ्ग संस्था ईक्रा नेपाल लिमिटेडले “CARE-NP BB (IS)” (Double B [Issuer] ) प्रमाणपत्र प्रदान गरेको छ । उक्त रेटिङ्गले “नेपालमा यस्तो रेटिङ्ग प्राप्त गर्ने निष्कासनकर्ताहरूले वित्तीय दायित्वहरूको समयमै भुक्तानी गर्ने सन्दर्भमा मध्यम स्तरको कर्जा भुक्तानी नहुने जोखिम (risk of default) बहन गरेको मानिन्छ” भन्ने बुझिन्छ ।

 

कति कित्ताका लागि दिने आवेदन ?

एभरेष्ट कलरको सेयर पाउन लगानीकर्ताले भाग्यकै भर पर्नुपर्ने देखिएको छ । कम्पनीले सर्वसाधारणका लागि ६ लाख ५५ हजार ७ सय कित्ता मात्र सेयर निष्कासन गरेको छ । कम्पनीले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन पाउने व्यवस्था गरेको छ ।

आयोजना सम्बन्धी विवरण

एभरेष्ट कलर लिमिटेड कम्पनी ऐन, २०६३ अन्तर्गत स्थापित एक संगठित संस्था हो, जसको रजिष्टर्ड तथा कर्पोरेट कार्यालय मध्यपुर ठिमी नगरपालिका वडा नं. ३, कौशलटार, भक्तपुरमा रहेको छ।

यस उद्योगको मुख्य कारखाना चितवनको खैरनी नगरपालिका वडा नं. ३, टुंगारामा अवस्थित छ भने मोरङको विराटनगरमा यसको शाखा कार्यालय तथा डिपो रहेको छ।

कम्पनीले आफ्नो प्रारम्भिक वातावरणीय परीक्षण (IEE) प्रतिवेदन अनुसार स्थानीय रोजगारी सिर्जना र सामाजिक उत्तरदायित्व मार्फत सकारात्मक योगदान पुर्‍याउने लक्ष्य राखेको छ।

उद्योग निर्माण र सञ्चालनका क्रममा आउन सक्ने सम्भावित नकारात्मक प्रभावहरू (जस्तै: ध्वनि, फोहोरमैला, ऊर्जा र भूमिगत जलको अत्यधिक खपत, तथा आगलागी जस्ता जोखिमहरू) लाई न्यूनीकरण गर्न धुलो नियन्त्रण र फोहोर व्यवस्थापन सहितको ‘पर्यावरण व्यवस्थापन योजना’ लागू गरिने प्रतिबद्धता जनाइएको छ।

कानुनी तथा नीतिगत मापदण्डहरूको अनुपालन गर्दै प्रतिवेदनले आवश्यक शर्तहरू सहित यो आयोजना कार्यान्वयन योग्य रहेको निष्कर्ष निकाल्दै अघि बढाउन सिफारिस गरेको छ।

 संस्थाको स्थापना देखि हालसम्मको अबस्था 

एभरेष्ट कलर लिमिटेडको स्थापना मिति २०६८ साल वैशाख २२ गते “एभरेष्ट कलर प्राइभेट लिमिटेड” को रूपमा भएको हो। विगत १४ वर्षदेखि स्वदेशी युवाहरूको संगठित पहल र सहकारी मोडलमा स्थापना भएको यो नेपालको पहिलो पेन्ट उद्योग हो। कम्पनीले उपभोक्ताको आवश्यकता र नेपाली हावापानी सुहाउँदो ७ देखि १२ वर्षसम्मको वारेन्टी भएका प्रिमियम, सुपर प्रिमियम, इमल्सन, डिस्टेम्पर, प्राइमर, काठ र धातुमा प्रयोग हुने कोटिङ, औद्योगिक पेन्ट तथा आर्ट पेन्टहरू उत्पादन गर्दै आएको छ।

 २०७४ साल जेठ १६ गते उद्योग परिसरमा विद्युत चुहावट (Short Circuit) का कारण भीषण आगलागी हुँदा कच्चा पदार्थ, तयारी सामान, प्याकेजिङ सामग्री र उत्पादन सम्पत्ति गरी जम्मा रु. १ केरोड ९१ लाख ११ हजार ५४० रुपैयाँ  बराबरको ठूलो आर्थिक क्षति भएको थियो। उक्त क्षतिबापत कम्पनीले आईएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट  ८२  लाख  बिमा दाबी रकम प्राप्त गरेको थियो।

त्यसपछि व्यवसायलाई थप परिष्कृत र विस्तार गर्दै कम्पनीले  २०८१ साल असार १० गते पब्लिक लिमिटेडमा रूपान्तरण भई “एभरेष्ट कलर लिमिटेड” को नाम प्राप्त गर्‍यो र कम्पनी रजिष्ट्रारको कार्यालयबाट  २०८१ साल असार १२ गते व्यावसायिक कारोबार सञ्चालन गर्ने अनुमति (Approval) पायो। अन्तर्राष्ट्रिय गुणस्तर व्यवस्थापन प्रणाली (ISO) प्रमाणपत्र प्राप्त यस उद्योगले कुशल व्यवस्थापन, वातावरणीय दायित्व र कार्यस्थल सुरक्षालाई प्राथमिकता दिँदै अत्याधुनिक मेसिनरी र अन्तर्राष्ट्रिय प्रविधिमार्फत उच्च गुणस्तरीय पेन्टहरू उत्पादन गर्दै आएको छ भने निकट भविष्यमै अत्याधुनिक प्रविधियुक्त नयाँ उत्पादनहरू बजारमा ल्याउने तयारी गरिरहेको छ।

 

आईपीओ जारी गर्नुको उद्देश्य

कम्पनीले आईपीओ निष्काशन गरी संकलन गरेको रकम को प्रबन्धपत्र तथा नियमावलीमा व्यवस्था भए अनुसार कम्पनीको जारी पूँजीको २६.३३ प्रतिशत सात करोड ९० लाखबराबरको ७ लाख ९० हजार कित्ता साधारण सेयर सर्वसाधारणहरुको निमित्त छुट्याइएका कारण कम्पनीले आईपीओ जारी गरेको हो। त्यस्तै, कम्पनीको वित्तीय एवम आर्थिक गतिविधिहरुलाई विस्तार गर्न आवश्यक पर्ने पूँजीको व्यवस्था गर्न कम्पनीले आईपीओ निष्काशन गरेको हो।

निष्कासनबाट प्राप्त हुने कूल रकम कसरी प्रयोग हुन्छ 

निष्काशनबाट प्राप्त हुने पूँजी रकमलाई कम्पनीले थप जग्गा प्राप्त गर्न, भौतिक संरचना विस्तार गर्न तथा थप उपकरण खरिद गर्न निष्काशन वापत्को रकम खर्चका लागि प्रयोग गरिनेछ।

 

कम्पनीको उत्पादन\संचालन क्षमता उपभोग स्थिति ः

कम्पनीको उत्पादन क्षमता प्रति वर्ष २०२० मेट्रिक टन रहेको छ भने आ.व. २०७९।८० मा २६७.२२ मेट्रिक टन रङ्ग उत्पादन गरी २७०.३२ मेट्रिक टन विक्रि वितरण गरेको थियो । आ.व. २०८०\८१ मा २६६.६७ मेट्रिक टन रङ्ग उत्पादन गरी ३१६.५९ मेट्रिक टन विक्रि वितरण गरेको थियो । साथै आ.व. २०८१\८२ मा ५३०.९३ मेट्रिक टन रङ्ग उत्पादन गरी ५३४.६९ मेट्रिक टन विक्रि वितरण गरेको छ ।

वित्तीय अवस्था

चालु आवको पुस मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको प्रतिसेयर नेटवर्थ ११८ रुपैयाँ ४० पैसा रहेको छ भने प्रतिसेयर आम्दानी ८ रुपैयाँ ३७ पैसा रहेको छ। त्यस्तै, सो अवधिसम्ममा कम्पनीको सञ्चित नाफा ९० लाख ३७ हजार रुपैयाँ रहेको छ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीको वास्तविक सञ्चित नाफा ३४ हजार २१७ रुपैयाँ थियो। सो अवधिसम्ममा कम्पनीको प्रतिसेयर नेटवर्थ ११३ रुपैयाँ ९७ पैसा रहेको थियो भने प्रतिसेयर आम्दानी ९ रुपैयाँ ६० पैसा थियो।

चालु आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले १ करोड ४४ लाख ८० हजार रुपैयाँ सञ्चित मुनाफा कमाउने प्रक्षेपण गरेको छ। सो अवधिसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी ५ रुपैयाँ ८२ पैसा र प्रतिसेयर नेटवर्थ ११५ रुपैयाँ ११ पैसा पुग्ने प्रक्षेपण गरिएको छ।

 

Leave Your Comment

Related News