काठमाडौं । नेपाल उद्योग परिसंघले राजधानीमा आयोजना गरेको एक कार्यक्रममा उद्योगी विनोद चौधरीले विगतमा सीमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्ति अन्त्य हुनु सकारात्मक भएको बताएका छन्। उनले अब पारदर्शी र प्रतिस्पर्धात्मक ढंगले परियोजनाहरू अघि बढाउने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए।
उनका अनुसार प्रशासनिक, कानुनी, न्यायिक तथा सार्वजनिक सेवा प्रवाहका क्षेत्रमा सुधारको प्रक्रिया अघि बढिरहेको छ र ती सुधारलाई अझ तीव्रता दिन आवश्यक छ। साथै, मुलुकमा विकसित भइरहेको आशावादी वातावरणलाई व्यवहारिक र ठोस लगानी परियोजनामार्फत थप सशक्त बनाउनुपर्ने आवश्यकता रहेको उनले बताए।
ऊर्जा क्षेत्रलाई उदाहरणका रूपमा प्रस्तुत गर्दै चौधरीले विद्युत् खरिद–बिक्री सम्झौता (पीपीए) को प्रतीक्षामा रहेका हजारौँ मेगावाट क्षमताका परियोजनाहरू लामो समयदेखि रोकिएको उल्लेख गरे। उनले विगतको स्रोत कब्जा गर्ने प्रवृत्तिलाई अन्त्य गर्दै पारदर्शी र प्रतिस्पर्धी ढंगले परियोजनाहरू अगाडि बढाउने सरकारको प्रतिबद्धता देखिएको भन्दै अब त्यसलाई शीघ्र कार्यान्वयनमा लैजानुपर्ने बताए।
पर्यटन क्षेत्रमा पनि सकारात्मक संकेतहरू देखिन थालेको उनको भनाइ छ। हाल विभिन्न तहबाट प्रस्तुत भएका नीतिगत दृष्टिकोण र एजेन्डाहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा सकारात्मक रूपमा ग्रहण गरिएको अनुभव भएको उनले बताए।
चौधरीले यस्ता सुधार र नीतिगत पहलहरूले लगानीको वातावरण बलियो बनाउने तथा मुलुकलाई विकासको मार्गमा ठूलो फड्को मार्न सहयोग पुग्ने विश्वास व्यक्त गरे।


