नयाँ दिल्ली । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल–भारत सीमा विवादलाई कूटनीतिक संवादमार्फत समाधान गर्न नेपाल पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन्। भारतको औपचारिक भ्रमणमा रहेका मन्त्री खनालले दुवै देशले खुला हृदय र सकारात्मक सोचका साथ छलफल गरेमा समाधान हुन नसक्ने कुनै पनि विषय नरहेको बताएका हुन्।
नयाँ दिल्लीमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले नेपालले भारतसँगको सम्बन्धलाई २०औँ शताब्दीको भूराजनीतिक प्रतिस्पर्धा र अतिसंवेदनशील दृष्टिकोणबाट हेर्न नचाहेको स्पष्ट पारे। नेपाल अहिले साझा समृद्धि, आर्थिक विकास र आपसी हितमा आधारित साझेदारीलाई प्राथमिकतामा राखेर अघि बढिरहेको उनको भनाइ थियो।
तीन दिने औपचारिक भारत भ्रमणका क्रममा मन्त्री खनालले शनिबार भारतीय विदेशमन्त्री एस जयशङ्करसँग सँग विस्तृत छलफल गरेका थिए। भ्रमणका क्रममा द्विपक्षीय सम्बन्ध, आर्थिक सहकार्य, ऊर्जा, व्यापार तथा कनेक्टिभिटीका विषयमा छलफल भएको बताइएको छ।
मन्त्री खनालले नेपालले भारतलाई खुला हृदय, स्पष्ट दृष्टिकोण र नेपालको आर्थिक रूपान्तरणको साझा लक्ष्यका साथ हेरेको उल्लेख गरे। उनले उग्र राष्ट्रवादी नाराबाजीभन्दा तथ्य, संवाद र परिणाममुखी कूटनीतिमार्फत समस्याको समाधान खोज्ने नीति अपनाइएको बताए।


