दाङ । लुम्बिनी प्रदेश सरकारमा मन्त्रिपरिषद् पुनर्गठन गरिएको छ। पुनर्गठनसँगै नियुक्त भएका पाँच मन्त्रीले सोमबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।
प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगरले नेपालको संविधानको धारा १६८ (९) बमोजिम नवनियुक्त मन्त्रीहरूलाई शपथ गराएका हुन्। मुख्यमन्त्री चेतनारायण आचार्य को सिफारिसमा मन्त्रिपरिषद् पुनर्गठन गरिएको हो।
पुनर्गठित मन्त्रिपरिषद्मा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट चार जना तथा जनता समाजवादी पार्टी बाट एक जना मन्त्री समावेश भएका छन्।
नवनियुक्त मन्त्रीहरूमा तुलसीप्रसाद चौधरीलाई कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, डिल्लीराज भुसाललाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, रामजीप्रसाद घिमिरेलाई स्वास्थ्य मन्त्रालय, रत्नबहादुर खत्रीलाई भौतिक पूर्वाधार विकास मन्त्रालय तथा भण्डारीलाल अहिरलाई आन्तरिक मामिला तथा कानून मन्त्रालयको जिम्मेवारी प्रदान गरिएको छ।
शपथ ग्रहण समारोहमा मुख्यमन्त्री आचार्यसहित पूर्वमुख्यमन्त्री जोखबहादुर महरा, सभामुख तुलाराम घर्ती मगर, उपसभामुख मेनुका खाँड केसी तथा अन्य पदाधिकारीहरूको उपस्थिति रहेको थियो।
सरकारले प्रदेश प्रशासनलाई थप प्रभावकारी बनाउने उद्देश्यका साथ मन्त्रालयहरूको जिम्मेवारी हेरफेर गर्दै मन्त्रिपरिषद् पुनर्गठन गरेको जनाएको छ।


