काठमाडौं । डोटी जिल्लाका स्थानीय तहहरूमा बेरुजु रकम बढ्दैगएको छ । महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको स्थानीय तहको लेखापरीक्षण प्रतिवेदन अनुसार जिल्लामा आर्थिक वर्ष २०८१/८२ मा १५ करोड सात लाख २६ हजार ८१७ रुपैयाँ बेरुजु थपिएको छ ।
जिल्लाका नौ स्थानीयतहमध्ये गत आर्थिक वर्षमा पूर्वीचौकी गाउँपालिकामा सबैभन्दा बढी तीन करोड ४७ लाख ७१ हजार ५८० रुपैयाँ बेरुजु थपिएको हो ।
दोस्रोमा सायल गाउँपालिकाले तीन करोड २४ लाख २४ हजार ९१८ रुपैयाँ बेरुजु थपेको छ । यस्तै, जोरायल गाउँपालिकामा दुई करोड ३८ लाख ५१ हजार ५७६ रुपैयाँ, शिखर नगरपालिकामा एक करोड ६६ लाख ५७ हजार २४४, आदर्श गाउँपालिकामा एक करोड ४३ लाख पाँच हजार १६ र केआईसिंह गाउँपालिकामा एक करोड २३ लाख सात हजार ३१५ रुपैयाँ बेरुजु थपिएको छ ।
बडीकेदार गाउँपालिकामा ७२ लाख ३७ हजार ५३५, दिपायल सिलगढी नगरपालिकाले ५४ लाख ६४ हजार २०० सय र बोगटान फुड्सिल गाउँपालिकामा ३७ लाख ७ हजार ४२२ बेरुजु थपिएको महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको लेखापरीक्षण प्रतिवेदनमा उल्लेख छ ।


