काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाही ले करका दर हेरफेरसम्बन्धी विवादमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमाथि निष्पक्ष छानबिन गर्न माग गरेका छन्।
सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै शाहीले करका दरसम्बन्धी जानकारी अत्यन्त सीमित व्यक्तिसम्म मात्र रहने भएकाले यस विषयमा गम्भीर अनुसन्धान आवश्यक रहेको बताए। उनले करसम्बन्धी सूचना चुहावट भएको आशंका व्यक्त गर्दै घटनाको वास्तविकता सार्वजनिक गर्नुपर्ने माग गरे।
शाहीले कोरला र रसुवागढी नाकाबाट कर छलीका उद्देश्यले सवारीसाधन भित्रिएको दाबी गर्दै करका दर परिवर्तनसम्बन्धी सूचना कसरी बाहिरियो भन्ने विषयमा प्रश्न उठाए। उनले यस घटनाको निष्पक्ष छानबिनका लागि संसदीय छानबिन समिति गठन गर्नुपर्ने आवश्यकता औंल्याए।
उनले अर्थमन्त्री डा. स्वर्णिम वाग्ले माथि छानबिन हुनुपर्ने र घटनामा संलग्नता पुष्टि भए कानुनी कारबाहीको दायरामा ल्याउनुपर्ने धारणा पनि व्यक्त गरे।
हाल कर दर हेरफेर र सूचना चुहावटको विषयलाई लिएर संसद्मा सत्तापक्ष र विपक्षीबीच बहस जारी रहेको छ। विपक्षी दलहरूले घटनाबारे विस्तृत छानबिन र तथ्य सार्वजनिक गर्न सरकारसँग माग गर्दै आएका छन्।


