CLI

हङकङलाई पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको च्याम्पियन, डीएल मेथडमा १९ रनको जित

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले हङकङलाई पराजित गर्दै एसियाली खेलकुद (एसियाड) छनोट प्रतियोगिताको उपाधि जितेको छ।

सोमबार सिंगापुरमा भएको फाइनल खेलमा नेपालले हङकङलाई डकवर्थ–लुइस (डीएल) मेथडका आधारमा १९ रनले पराजित गर्दै च्याम्पियन बनेको हो।

हङकङले दिएको १८९ रनको लक्ष्य पछ्याउँदै नेपालले ११.३ ओभरमा २ विकेटको क्षतिमा ११४ रन बनाउँदा वर्षाका कारण खेल रोकिएको थियो। त्यसपछि डीएल मेथड लागू गर्दै नेपाल विजयी घोषित भएको हो।

नेपालका लागि ओपनर कुशल भुर्तेलले ४० बलमा ६५ रनको उत्कृष्ट इनिङ खेले। उनले ८ चौका र ३ छक्का प्रहार गरे। कप्तान रोहित पौडेल ३५ रनमा अविजित रहे भने कप्तान दीपेन्द्रसिंह ऐरी ९ रनमा नटआउट रहे। अर्का ओपनर आशिफ शेख शून्यमै आउट भएका थिए।

दोस्रो विकेटका लागि रोहित र भुर्तेलबीच ४६ बलमा ६३ रनको महत्वपूर्ण साझेदारी भएको थियो।

त्यसअघि पहिले ब्याटिङ गरेको हङकङले २० ओभरमा ७ विकेट गुमाउँदै १८८ रन बनाएको थियो। हङकङका लागि अन्सुमन रथले ४५ बलमा ८० रनको आक्रामक इनिङ खेले। साहिद वासिफले ५५ रनको योगदान दिए भने शिव माथुरले २६ रन जोडे।

नेपालका बलर शेर मल्लले ४ विकेट लिए भने करण केसीले २ विकेट र सन्दीप लामिछानेले १ विकेट हात पारे।

यस जितसँगै नेपालसहित हङकङ, मलेसिया र ओमानले जापानमा हुने २०औँ एसियाली खेलकुद २०२६ का लागि स्थान पक्का गरेका छन्।

एसियाडको पुरुष क्रिकेट प्रतियोगिता सेप्टेम्बर ४ देखि सुरु हुनेछ भने फाइनल खेल अक्टोबर ३ मा हुने तय भएको छ।

Leave Your Comment

Related News