CLI

परराष्ट्र मन्त्रीद्वारा बेलायती गोर्खा समस्याका बारेमा यूकेका रक्षा मन्त्रीहरूसँग भर्चुअल बैठक सम्पन्न

काठमाडौं । परराष्ट्र मन्त्री माननीय शिशिर खनाल र संयुक्त अधिराज्य (यूके) का रक्षा राज्यमन्त्री द राइट अनरेबल जोन हिली तथा भेट्रान्स एन्ड पिपल सम्बन्धी रक्षा मन्त्री माननीय लुइस स्यान्डर-जोन्स सांसदबीच आज भर्चुअल बैठक सम्पन्न भएको छ।

बैठक मुख्यत: बेलायती गोर्खाहरूको समान पेन्सनको माग लगायत लामो समयदेखि समाधान हुन नसकेका गुनासोहरूमा केन्द्रित थियो। नेपाल-यूके सम्बन्धमा बेलायती गोर्खाहरूको महत्वलाई उजागर गर्दै मन्त्री खनालले बेलायती गोर्खाहरूका गुनासोहरूलाई यथाशीघ्र चाँडो आपसी सहमतिमा टुङ्ग्याउनुपर्ने आवश्यकतामा जोड दिनुभयो। यस सन्दर्भमा उहाँले बेलायत सरकारलाई यी मुद्दाहरूलाई सम्बोधन गर्न न्याय, निष्पक्षता र सम्मानको दृष्टिकोणबाट प्रस्तुत हुन अनुरोध गरेका छन्।

रक्षा राज्यमन्त्री जोन हिलीका तर्फबाट भेट्रान्स एन्ड पिपल सम्बन्धी मन्त्री माननीय लुइस स्यान्डर-जोन्सले बेलायती गोर्खा भूतपूर्व सैनिकहरूका समस्याहरू समाधान गर्न नेपाली पक्षसँग मिलेर काम गर्ने आफ्नो प्रतिबद्धता दोहोर्‍याए ।

बैठकमा परराष्ट्र सचिव  अमृतबहादुर राई र परराष्ट्र मन्त्रालयका अन्य वरिष्ठ अधिकारीहरूको उपस्थिति रहेको थियो। बेलायती पक्षबाट माननीय एलेक्स बेकर सांसद तथा नेपालका लागि सर्वदलीय संसदीय समूहका अध्यक्ष र बेलायती रक्षा मन्त्रालयका अन्य वरिष्ठ अधिकारीहरू उपस्थित थिए। यस भर्चुअल बैठकमा बेलायती गोर्खा संगठनका प्रतिनिधिहरूको पनि उपस्थिति रहेको थियो।

यसअघि आजै माननीय मन्त्री खनालले यूकेमा रहेका बेलायती गोर्खा भूतपूर्व सैनिकका प्रतिनिधिहरूसँग भर्चुअल अन्तरक्रिया गरेका  थिए।

बैठकको समन्वय र सहजीकरण लन्डनस्थित नेपाली दूतावासका कार्यवाहक राजदूत  विपिन दुवाडीले गरएका थिए।

Leave Your Comment

Related News