CLI

प्रतिनिधिसभाको बैठक आज पनि बस्ने कार्यसूची

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले संसद्मा दिएको अभिव्यक्तिलाई लिएर उत्पन्न विवादका कारण पटकपटक अवरुद्ध हुँदै आएको प्रतिनिधि सभाको बैठक आज पुनः बस्ने कार्यसूची तय गरिएको छ। संसद् सचिवालयका अनुसार बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ।

जेठ १९ गतेयता प्रभावित हुँदै आएको प्रतिनिधि सभाको बैठक सोमबारका लागि आह्वान गरिए पनि सञ्चालन हुन सकेन। बैठक सुरु हुनासाथ विपक्षी दलका सांसदहरूले आफ्नो आसनबाट उठेर विरोध जनाएपछि सदनको कामकारबाही प्रभावित भएको थियो।

विपक्षी दलहरूले प्रधानमन्त्री शाहले सीमासम्बन्धी विषयमा दिएको अभिव्यक्ति सच्याउनुपर्ने माग गर्दै निरन्तर संसद् अवरुद्ध गरिरहेका छन्। प्रधानमन्त्रीले जेठ १७ गते प्रतिनिधि सभामा आयोजित सांसदसँगको प्रश्नोत्तर कार्यक्रमका क्रममा नेपालले पनि भारतको केही भूमि मिचेको आशयको अभिव्यक्ति दिएका थिए। उक्त भनाइप्रति असन्तुष्टि जनाउँदै विपक्षी दलहरूले सदनमा विरोध जारी राखेका हुन्।

सोमबारको बैठकमा पनि अवरोध कायम रहेपछि सभामुख डोलप्रसाद अर्यालले प्रारम्भमा १५ मिनेटका लागि बैठक स्थगित गरेका थिए। तर दलहरूबीच सहमति जुट्न नसक्दा बैठक पुनः सञ्चालन हुन सकेन र सूचना टाँस गरी स्थगित गरिएको थियो।

आजको बैठकमा दलहरूबीच सहमति जुट्ने वा विपक्षीको विरोध कायमै रहने भन्ने विषयमा राजनीतिक वृत्तको चासो केन्द्रित रहेको छ। संसद्को अवरोध अन्त्यका लागि दलहरूबीच छलफल जारी रहेको बताइएको छ।

Leave Your Comment

Related News