CLI
Global College

विप्रेषण आप्रवाह ४१.२ प्रतिशतले बढेर  १९ खर्ब १६ अर्ब नाघ्यो (पूर्ण प्रतिवेदन सहित)

काठमाडौं । चालु आर्थिक वर्षको समीक्षा अवधिमा नेपालमा विप्रेषण (रेमिट्यान्स) आप्रवाह उल्लेखनीय रूपमा बढेको छ। नेपाल राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा विप्रेषण आप्रवाह ४१.२ प्रतिशतले वृद्धि भई रु. १९ खर्ब १६ अर्ब ९० करोड पुगेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो आप्रवाह १३.३ प्रतिशतले मात्र बढेको थियो।

२०८३ वैशाख महिनामा मात्रै रु. २ खर्ब ५७ अर्ब ४९ करोड विप्रेषण भित्रिएको छ। अघिल्लो वर्षको सोही महिनामा विप्रेषण आप्रवाह रु. १ खर्ब ६५ अर्ब ३० करोड रहेको थियो।

अमेरिकी डलरमा गणना गर्दा समीक्षा अवधिमा विप्रेषण आप्रवाह ३३ प्रतिशतले वृद्धि भई १३ अर्ब २६ करोड डलर पुगेको छ। अघिल्लो वर्ष यस्तो वृद्धि दर १०.६ प्रतिशत रहेको थियो।

यस अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) पनि उल्लेखनीय रूपमा बढेको छ। खुद ट्रान्सफर रु. २० खर्ब ९१ अर्ब ८६ करोड पुगेको छ, जबकि अघिल्लो वर्षको सोही अवधिमा यो रकम रु. १४ खर्ब ८० अर्ब २८ करोड रहेको थियो।

वैदेशिक रोजगारीतर्फ समीक्षा अवधिमा अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ३ लाख ३५ हजार ५१० पुगेको छ। त्यस्तै पुनः श्रम स्वीकृति लिनेको संख्या ३ लाख २६ हजार ३६४ रहेको छ।

अघिल्लो वर्षको सोही अवधिमा नयाँ श्रम स्वीकृति लिनेको संख्या ४ लाख ५ हजार ६१० तथा पुनः श्रम स्वीकृति लिनेको संख्या २ लाख ८० हजार ३१४ रहेको थियो।

विप्रेषण आप्रवाहमा भएको उच्च वृद्धिले विदेशी मुद्रा सञ्चिति, बाह्य क्षेत्रको स्थायित्व तथा समग्र अर्थतन्त्रलाई थप टेवा पुगेको देखिएको छ।

 

Leave Your Comment

Related News