CLI

१० महिनामा चालु खाता ७ खर्ब २९ अर्बले बचतमा, शोधनान्तर स्थिति ८ खर्ब ६३ अर्ब नाघ्यो

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो १० महिनामा नेपालको चालु खाता ७ खर्ब २९ अर्ब २८ करोड रुपैयाँले बचतमा रहेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वैशाख मसान्तसम्मको तथ्यांकअनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिमा चालु खाता २ खर्ब ७२ अर्ब ५३ करोड रुपैयाँले बचतमा रहेको थियो।

अमेरिकी डलरमा हेर्दा गत आर्थिक वर्षको सोही अवधिमा २ अर्ब १ करोड डलर बचतमा रहेको चालु खाता समीक्षा अवधिमा बढेर ५ अर्ब ५ करोड डलर पुगेको छ। समीक्षा अवधिमा खुद पुँजीगत ट्रान्सफर १४ अर्ब ६५ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ८ अर्ब ४८ करोड रुपैयाँ रहेको थियो। यसैगरी, प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) अन्तर्गत इक्विटी लगानी १६ अर्ब ९६ करोड रुपैयाँ भित्रिएको छ। जुन अघिल्लो वर्षको सोही अवधिको १० अर्ब ५८ करोड रुपैयाँभन्दा उल्लेखनीय रूपमा बढी हो।

वैशाख मसान्तसम्म नेपालको शोधनान्तर स्थिति पनि सुदृढ देखिएको छ। समीक्षा अवधिमा शोधनान्तर स्थिति ८ खर्ब ६३ अर्ब ५६ करोड रुपैयाँले बचतमा रहेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यो बचत ४ खर्ब ३८ अर्ब ५२ करोड रुपैयाँ रहेको थियो। अमेरिकी डलरमा शोधनान्तर स्थिति अघिल्लो वर्षको सोही अवधिको ३ अर्ब २३ करोड डलरबाट बढेर समीक्षा अवधिमा ५ अर्ब ९८ करोड डलर बचतमा पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ।

Leave Your Comment

Related News