CLI

सबै सरकारी वेबसाइटमा ‘एक्सेसिबिलिटी टुल’, प्रयोगकर्तालाई चलाउन थप सहज हुने

काठमाडौं ।  सरकारी निकायका वेबसाइटलाई सबै नागरिकका लागि सहज र समावेशी बनाउन पहुँचमैत्री उपकरणहरू समावेश गरिएका छन् । दृष्टिविहीन, न्यून दृष्टि भएका, रङ्ग पहिचानमा समस्या भएका, पढाइसम्बन्धी कठिनाइ भएका व्यक्ति, ज्येष्ठ नागरिक तथा विशेष आवश्यकता भएका प्रयोगकर्ताले सरकारी वेबसाइटको सामग्री अझ सहज रूपमा प्रयोग गर्न सक्ने गरी सबै सरकारी वेबसाइटमा पहुँचमैत्री  उपकरण (एक्सेसिबिलिटी टुल) राखिएको सूचना प्रविधि विभागका सूचना अधिकारी प्रकाश दवाडीले जानकारी दिए ।

सरकारले गत चैतमा सार्वजनिक गरेको शासकीय सुधार सम्बन्धी १०० बुँदे कार्यसूचीको बुँदा नम्बर ३० मा सरकारी एप तथा पोर्टलहरुलाई अपाङ्गता भएका व्यक्ति र कम प्राविधिक ज्ञान भएका नागरिकले पनि चलाउन सक्ने गरी सरल बनाउने उल्लेख गरिएको थियो । डिजिटल सेवामा सबै नागरिकको समान पहुँच सुनिश्चित गर्न तथा अपाङ्गता भएका व्यक्तिको सूचना प्राप्त गर्ने अधिकारलाई प्रभावकारी बनाउन सरकारले यो सुविधा कार्यान्वयनमा ल्याएको हो ।

अहिले सरकारी वेबसाईट खोलिसकेपछि तलपट्टी मध्यभागमा ‘एक्सेसिबिलिटी टुल आइकन’ भेटिन्छ । यो सुविधाबाट प्रयोगकर्ताले आफ्नो आवश्यकता अनुसार वेबसाइटको स्वरूप तथा सामग्री समायोजन गर्न पाउँछन् । जस्तै, सजिलैसँग अक्षरको आकार सानो वा ठूलो बनाउने, वेबसाइटमा रहेका अक्षर तथा शब्द र पृष्ठभूमिबीचको भिन्नता बढाएर सामग्री स्पष्ट रूपमा देख्न सहयोग गर्ने जस्ता ‘टुल’हरु त्यहाँ राखिएका छन् ।

त्यसैगरी, विभिन्न प्रकारका रङ्ग फिल्टर प्रयोग गर्न सकिने, अक्षर तथा हरफबीचको दूरी समायोजन गर्न सकिने, फन्ट छान्न सक्नेलगायतका व्यवस्था गरिएको छ । वेबसाईट चलाउँदा प्रयोगकर्तालाई थप सहज बनाउन ‘माउस कर्सर’लाई सानो वा ठूलो बनाउन सक्ने, वेबसाईटका सबै तस्विर लुकाएर अक्षरहरु मात्र पढ्न मिल्ने बनाउने, चलायमान दृश्य तथा एनिमेसन रोक्न सकिनेलगायतका सुविधा राखिएका छन् ।

विभागका अनुसार अन्तर्राष्ट्रिय मापदण्डका रुपमा रहेको ‘वेब कन्टेन्ट एक्सेसिबिलिटी गाइडलाईन’ (डब्ल्युसीएजी) अनुरुप विकास गरिएका यी वेबसाइटहरू किबोर्डको प्रयोगबाट मात्र पनि सहज रुपमा सञ्चालन गर्न सकिने छ ।

सरकारी वेबसाइटहरुमा राखिएको ‘स्किप नेभिगेसन’ लिङ्कको व्यवस्थाले किबोर्ड तथा स्क्रिन रिडर प्रयोगकर्तालाई सिधै मुख्य विषयवस्तुमा पुग्न सहयोग पुर्याउँछ भने महत्वपूर्ण तस्विर, लोगो तथा सेवासम्बन्धी सामग्रीमा रहेको ‘अल्ट टेक्स्ट’ले दृष्टिविहीन प्रयोगकर्तालाई सामग्री बुझ्न अत्यन्त सहज बनाएको छ ।

यसैगरी, फाराम भर्ने क्रममा देखिने त्रुटि सन्देश (इरर म्यासेज) र सुझावहरू सजिलै सुन्न र बुझ्न मिल्ने गरी वेबसाइटहरु तयार पारिएको विभागले जनाएको छ । सर्च तथा सम्पर्क फारामजस्ता ‘इनपुट’ क्षेत्रमा स्पष्ट नाम र संकेतहरू राखिएकाले ‘स्क्रिन रिडर’ प्रयोगकर्तालाई थप सहज हुनेछ । किबोर्ड प्रयोगकर्ताले आफू वेबसाइटको कुन स्थानमा छु भन्ने स्पष्ट रूपमा थाहा सक्ने छन् ।

यसअघि गत वैशाखमा विभागले अपाङ्गमैत्री सुविधासहित सञ्चालित सरकारी एकीकृत वेबसाइट व्यवस्थापन प्रणाली अध्यावधिक गर्ने सम्बन्धि तालिम दिएको थियो । विभिन्न मन्त्रालय तथा विभागका कर्मचारीहरूलाई लक्षित गरी उक्त तालिम सञ्चालन गरिएको थियो ।

Leave Your Comment

Related News