CLI

चेक अनादर मुद्दामा फणिन्द्र नेपाल डिल्लीबजार कारागार पठाइने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र नागरिक समाजका अध्यक्ष तथा ग्रेटर नेपाल अभियानका अभियन्ता फणिन्द्र नेपाल चेक अनादर (बाउन्स चेक) सम्बन्धी मुद्दामा दोषी ठहर भएका छन्।

जिल्ला अदालत काठमाडौंले मंगलबार नेपाललाई चेक अनादर मुद्दामा दोषी ठहर गर्दै दुई वर्ष कैद सजाय सुनाएको छ। अदालतको आदेशअनुसार उनलाई सजाय भुक्तानका लागि डिल्लीबजार कारागार पठाइने भएको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले अदालतको फैसला कार्यान्वयनका क्रममा नेपाललाई बूढानीलकण्ठ नगरपालिका–१० स्थित कपन बस्ती क्षेत्रबाट पक्राउ गरेको जनाएको छ।

प्रहरीका अनुसार अदालतबाट कैद सजायको फैसला भएपछि फरार रहेका नेपाललाई खोजतलासका क्रममा पक्राउ गरिएको हो। आवश्यक कानुनी प्रक्रिया पूरा गरी उनलाई कारागार चलान गरिएको प्रहरीले जनाएको छ।

चेक अनादर सम्बन्धी कसुरमा अदालतले दोषी ठहर गरेपछि प्रचलित कानुनबमोजिम कैद तथा जरिवानाको व्यवस्था रहेको छ।

Leave Your Comment

Related News