काठमाडौं । रोजगारीका लागि अमेरिका पठाइदिने भन्दै एक व्यक्तिबाट ३८ लाख ५० हजार रुपैयाँ ठगी गरेको आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले एक महिलालाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा रोल्पाको रुन्टीगढी गाउँपालिका–९ घर भई हाल काठमाडौं महानगरपालिका–१५ चन्द्रागिरिमा बस्दै आएकी ५४ वर्षीया निर्मला कुमारी श्रेष्ठ रहेकी छन्।
प्रहरीका अनुसार श्रेष्ठले पीडितलाई अमेरिका लैजाने आश्वासन दिँदै लामो समयसम्म झुक्यानमा राखेर रकम असुलेको र त्यसपछि सम्पर्कविहीन भएकी थिइन्।
उनलाई बुधबार टेकुबाट पक्राउ गरिएको हो। प्रहरीले थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि श्रेष्ठलाई वैदेशिक रोजगार विभाग, ताहाचल पठाएको जनाएको छ।
प्रहरीले वैदेशिक रोजगारीका नाममा हुने ठगीप्रति सचेत रहन सर्वसाधारणलाई आग्रह गर्दै वैदेशिक रोजगार विभागबाट अनुमति प्राप्त संस्थामार्फत मात्र प्रक्रिया अघि बढाउन सुझाव दिएको छ।


