काठमाडौं । हिमालयन रि–इन्स्योरेन्स लिमिटेड तथा अन्य लघु बीमा कम्पनीहरूको सेयरमा जालसाजीपूर्ण कारोबार गरी व्यक्तिगत लाभ लिएको आरोपमा विभिन्न ६ कम्पनीसँग सम्बन्धित ४२ जनाविरुद्ध ११ अर्ब २६ करोड रुपैयाँभन्दा बढी बिगो मागदाबी गर्दै जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरिएको छ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को अनुसन्धानका आधारमा सरकारी वकिलको कार्यालय काठमाडौंले बिहीबार हिमालयन रि–इन्स्योरेन्स लिमिटेड, नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेड, हिमालयन सेक्युरिटिज बैंकर लिमिटेड, हिमालयन क्यापसर्व लिमिटेड, एचएलआई लार्ज क्याप फण्ड र हिमालयन इन्भेष्टमेन्ट बैंकरसँग सम्बन्धित सञ्चालक तथा पदाधिकारीलाई प्रतिवादी बनाएर अभियोगपत्र दर्ता गरेको हो।
अभियोगपत्रमा विवादास्पद व्यवसायी दीपक भट्ट, सुलभ अग्रवाल, शेखर गोल्छा, सन्दीप चाचन र राजबहादुर शाहलगायतको मिलेमतोमा बीमा कम्पनीहरूको सेयरमा योजनाबद्ध रूपमा जालसाजीपूर्ण कारोबार गरी सेयर बजारमा कालोबजारी तथा अनुचित लाभ लिइएको आरोप लगाइएको छ।
२ अर्ब ७३ करोडभन्दा बढी पेस्की रकम राफसाफ हुन बाँकी
अभियोगपत्रअनुसार हिमालयन रि–इन्स्योरेन्सले भृकुटी स्टक ब्रोकिङ कम्पनी (ब्रोकर नम्बर ५५) लाई सेयर खरिदका लागि पटक–पटक उपलब्ध गराएको पेस्कीमध्ये २ अर्ब ७३ करोड ३३ लाख १५ हजार १६० रुपैयाँ हालसम्म राफसाफ हुन बाँकी रहेको छ। उक्त रकम दुरुपयोग भएको दाबी पनि अभियोगपत्रमा गरिएको छ।
अनुसन्धानका क्रममा ६ वटा बीमा कम्पनीहरूको सेयर खरिद–बिक्रीमा सौर्य सिमेन्ट र जगदम्बा स्टिलको कार्यालयमा रहेका कम्प्युटर तथा इन्टरनेट प्रयोग भएको भेटिएको भन्दै सबै कारोबार एउटै समूहले योजनाबद्ध रूपमा सञ्चालन गरेको दाबी गरिएको छ।
लगानी सीमा नाघेको आरोप
अभियोगपत्रमा हिमालयन रि–इन्स्योरेन्सले नियामक निकायको पूर्वस्वीकृति नलिई नेपाल पुनर्बीमा कम्पनीको सेयरमा कानुनी सीमाभन्दा बढी लगानी गरेको उल्लेख छ।
बीमा प्राधिकरणको ‘बीमकको लगानी सम्बन्धी निर्देशन, २०८२’ अनुसार पुनर्बीमा कम्पनीले सूचीकृत पब्लिक लिमिटेड कम्पनीको संस्थापक वा साधारण सेयरमा आफ्नो कुल लगानीको अधिकतम १५ प्रतिशतसम्म मात्र लगानी गर्न पाउने व्यवस्था छ। तर अनुसन्धानअनुसार हिमालयन रि–इन्स्योरेन्सले उक्त सीमा उल्लंघन गर्दै आर्थिक वर्ष २०८१/८२ को अन्त्यसम्म कुल लगानीको २५.५९ प्रतिशत सेयर बजारमा लगानी गरेको पाइएको छ।
त्यसैगरी कम्पनीले नेपाल माइक्रो इन्स्योरेन्स र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको सार्वजनिक सेयर समेत खरिद गरेको पाइएको छ। आर्थिक वर्ष २०८१/८२ मा मात्रै गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको १० लाख २० हजार ५३० कित्ता साधारण सेयर खरिद गरिएको देखिएको छ, जुन कम्पनीको चुक्ता पुँजीको १३.६ प्रतिशत तथा कुल साधारण सेयरको ४५।३५ प्रतिशत बराबर रहेको अभियोगपत्रमा उल्लेख छ।
२०८२ चैत २ गतेसम्म हिमालयन रि–इन्स्योरेन्सको कुल लगानी १८ अर्ब ५२ करोड ३ लाख ९३ हजार ७४० रुपैयाँ पुगेको र त्यसमध्ये ४ अर्ब ३७ करोड १७ लाख ८४ हजार ३४ रुपैयाँ सूचीकृत पब्लिक लिमिटेड कम्पनीहरूको सेयरमा लगानी भएको, जुन कुल लगानीको २३।६१ प्रतिशत रहेको अनुसन्धानबाट खुलेको छ।
विभिन्न प्रतिवादीविरुद्ध अर्बौं रुपैयाँको बिगो दाबी
जिल्ला अदालत काठमाडौंमा दर्ता भएको मुद्दामा हिमालयन रि–इन्स्योरेन्सका संस्थापक अध्यक्ष शेखर गोल्छासहित १० जनाविरुद्ध २ अर्ब ७३ करोड ३३ लाख १५ हजार १६० रुपैयाँ बिगो मागदाबी गरिएको छ।
त्यस्तै, नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीका तत्कालीन अध्यक्ष आशिष श्रेष्ठसहित ९ जनाविरुद्ध १६ करोड १७ लाख ५२ हजार ८७३ रुपैयाँ ८८ पैसा बिगो दाबी गरिएको छ।
हिमालयन सेक्युरिटिज बैंकर लिमिटेडका दीपककुमार श्रेष्ठसहित ४ जनाविरुद्ध २२ करोड १९ लाख ७१ हजार ४४५ रुपैयाँ ६ पैसा, हिमालयन क्यापसर्व लिमिटेडका शिशिर गैह्रेसहित ४ जनाविरुद्ध ३७ करोड रुपैयाँ तथा एचएलआई लार्ज क्याप फण्ड र हिमालयन इन्भेष्टमेन्ट बैंकरका कपिलकुमार दाहालसहित १० जनाविरुद्ध २५ करोड ३७ लाख ११ हजार ९०१ रुपैयाँ ३ पैसा बिगो माग गरिएको छ।
यसैगरी व्यवसायी सुलभ अग्रवाल र सन्दीप चाचन अग्रवालविरुद्ध ३ अर्ब ७३ करोड ८५ लाख २४ हजार २२७ रुपैयाँ ८३ पैसा, दीपक भट्टविरुद्ध २ अर्ब ८९ करोड २० लाख ४८ हजार ८३९ रुपैयाँ ४२ पैसा तथा राजबहादुर शाहविरुद्ध ८९ करोड ७० लाख ९७ हजार ३४६ रुपैयाँ ७१ पैसा बिगो मागदाबी गरिएको छ।
सरकारी पक्षले सबै प्रतिवादीसँग बिगोबराबरको जरिबाना समेत हुनुपर्ने मागसहित अदालतमा अभियोगपत्र दर्ता गरेको छ।


