CLI

बेरुजुको समस्या नीतिगत तथा व्यवहारिक रुपमा सम्बोधन गर्न जोड

काठमाडौं ।सार्वजनिक लेखा समितिले बेरुजुका विषयमा देखिएको नीतिगत तथा व्यवहारिक समस्या सम्बोधन गर्नुपर्नेमा जोड दिएको छ।

प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको आजको बैठकमा छलफलमा समिति सभापति भरतबहादुर खड्काले विभिन्न सरकारी निकायसँग बेरुजुको विषयमा आवश्यक जानकारी दिएर बेरुजु फस्र्याैटको लागि आवश्यक नीतिगत तथा कानुनी सुधार गर्नुपर्ने आवश्यकता औँल्याए।

त्यस अवसरमा नेपाली सेनाका सेनापति अशोकराज सिग्देलले नेपाली सेनाले चालु आर्थिक वर्षमा बाँकी रहेको बेरुजुमध्ये ६० प्रतिशत फछ्र्यौट गर्ने लक्ष्य राखेकोमा हालसम्म पनि ११ प्रतिशत मात्रै पूरा भएको बताए।

कृषि, वन तथा पर्यावरण मन्त्रालयका सचिव राजेन्द्रप्रसाद मिश्रले साविकको कृषि मन्त्रालयतर्फ  ६ अर्ब ३५ करोड रुपैयाँ बेरुजु रहेकोमा हालसम्म ४० दशमलव २८ प्रतिशत फछ्र्यौट गरेको बताए। उनले साविकको वन मन्त्रालयतर्फ पनि रु ५६ करोड बेरुजु रहेकोमा १६ प्रतिशत मात्रै बेरुजु फछ्र्यौट गरेको बताए।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सहसचिव विनोदकुमार भट्टराईले मन्त्रालयअन्तर्गत असुलउपर गर्नुपर्ने बेरुजु रु दुई सय छ रकम मात्रै रहेको बताए।

सङ्घीय संसद् सचिवालयका सचिव डा.रोजनाथ पाण्डेले सङ्घीय संसद् सचिवालयको बेरुजु रकम रु दुई करोड ४० लाख ६१ हजार रहेको उल्लेख गर्दै सांसदहरुको उपचार खर्चमा रकम दाबी गर्ने समय अघिल्लो आर्थिक वर्ष र भुक्तानी चालु आर्थिक वर्षमा हुँदा पनि संसद् सचिवालयसँग बेरुजु देखिएको बताए।

परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले मन्त्रालयअन्तर्गत रहेका विभिन्न निकायसँग  ३ अर्ब ८ करोड रुपैयाँ रकम बेरुजु रहेको उल्लेख गर्दै चालु आवको अन्त्यसम्म ४३ प्रतिशत बेरुजु रकम फछ्र्यौट गर्ने योजना रहेको बताए।

सर्वाेच्च अदालतका रजिष्ट्रार भद्रकाली पोखरेलले सर्वाेच्च अदालत मातहतमा रहेका बेरुजु रकम फछ्र्यौट गर्नका लागि आवश्यक कार्ययोजना अघि बढाएको जानकारी दिए। युवा, श्रम तथा रोजगार मन्त्रालयका सचिव डा दीपक काफ्लेले मन्त्रालय मातहत  ९९ करोड रुपैयाँ बेरुजु रहेकोमा २२ प्रतिशत फछ्र्यौट गरेको जानकारी दिए।

विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालयका सचिव प्रमिला बज्राचार्यले साविकको विज्ञान प्रविधि मन्त्रालय मातहत करिब १७ करोड ९३ हजार रुपैयाँ बेरुजु रहेको बताए।

सूचना तथा सञ्चार मन्त्रालयका सचिव लक्ष्मीकुमारी बस्नेतले मन्त्रालय मातहत विभिन्न शीर्षकमा ३० अर्ब २९ करोड रकम बेरुजु रहेकामा ५ दशमलव ६४ प्रतिशतअर्थात् एक अर्ब ६५ करोड फछ्र्यौट भएको बताए। उनले मन्त्रालय मातहत सबैभन्दा धेरै बेरुजु भने दूरसञ्जार प्राधिकरण मातहत भने  १६ अर्ब रुपैयाँभन्दा धेरै रहेको उल्लेख गरे।

रक्षा मन्त्रालयका सचिव केदारनाथ शर्माले मन्त्रालय मातहत रहेको बेरुजु चालु आवमा करिब ३० प्रतिशत फछ्र्यौट गर्ने लक्ष्य राखेको बताए। महालेखा परीक्षकको ६३औँ प्रतिवेदनअनुसार  ७ खर्ब ५५ अर्ब १७ करोड रुपैयाँ बेरुजु छ।

Leave Your Comment

Related News