काठमाडौं । काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्ध नगरपालिका वडा नम्बर २, बुच्चाकोटमा एक यात्रुवाहक बस दुर्घटना हुँदा ८ जनाको दुखद निधन भएको छ भने १६ जना यात्रु घाइते भएका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जारी गरेको विज्ञप्ति अनुसार, मिति २०८३ जेठ २९ गते दिउँसो करिब २:१५ बजे बा. ३ ख ८३९८ नम्बरको यात्रुवाहक बस दुर्घटनामा परेको हो।
दुर्घटनालगत्तै स्थानीय तह, जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोक, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र स्वास्थ्य संस्थाहरूको सक्रिय सहभागिता एवं समन्वयमा घाइतेहरूको तत्काल उद्धार गरिएको छ। घाइते भएका १६ जना यात्रुहरूको हाल धुलिखेल अस्पतालमा उपचार भइरहेको जानकारी दिइएको छ।
नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले यस दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ। सरकारले दुर्घटनामा ज्यान गुमाउनेहरूका प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ।
“नेपाल सरकारले यस घटनाको अनुसन्धान गरी दुर्घटनाको कारण पहिचान गर्न सम्बन्धित निकायलाई निर्देशन दिइसकेको छ। साथै घाइतेहरूको प्रभावकारी उपचार तथा प्रभावित परिवारलाई आवश्यक सहयोग उपलब्ध गराउन सम्बन्धित निकायहरूलाई निर्देशनसमेत दिइएको छ।”



