CLI

वर्षायाममा सडक खन्न पूर्ण प्रतिबन्ध, अनुमति बिना खने कारबाही हुने

काठमाडौं । वर्षायाममा सडक थप क्षतिग्रस्त हुन नदिन सडक विभाग अन्तर्गतको संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयले सडक खन्ने कार्यमा पूर्ण प्रतिबन्ध लगाएको छ।

कार्यालयले जारी गरेको सूचनाअनुसार धारा, ढल, विद्युत्, टेलिफोन लगायतका पूर्वाधार निर्माण तथा मर्मतका लागि सडक खन्दा वर्षायाममा तत्काल पुनःस्थापना गर्न कठिन हुने र सडकको अवस्था झन् बिग्रिने भएकाले यस्तो निर्णय गरिएको हो।

कार्यालयले असार १ गतेदेखि भदौ मसान्तसम्म आफ्नो मातहतका सडक डिभिजन क्षेत्रभित्र कुनै पनि सडक खन्न स्वीकृति नदिइने स्पष्ट पारेको छ। यस अवधिमा सडक खन्न आवश्यक परे पनि अनुमति प्रदान नगरिने जनाइएको छ।

साथै, अनुमति बिना सडक खनेको पाइएमा सार्वजनिक सडक ऐन, २०३१ बमोजिम कडा कानुनी कारबाही गरिने चेतावनीसमेत कार्यालयले दिएको छ।

वर्षायाममा सडकको दीर्घकालीन संरक्षण, यातायात सञ्चालनमा सहजता तथा दुर्घटना न्यूनीकरणलाई ध्यानमा राख्दै उक्त व्यवस्था लागू गरिएको कार्यालयको भनाइ छ।

Leave Your Comment

Related News