काठमाडौं । चालु आवको वैशाख मसान्तसम्ममा वाणिज्य बैंकको नाफा ५६ अर्ब ४७ करोड ५० लाख रुपैयाँ पुगेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १८.१६ प्रतिशतले वृद्धि हो। अघिल्लो वर्षको वैशाखसम्म बैंकहरूले ४७ अर्ब ७९ करोड ४० लाख रुपैयाँ नाफा कमाएका थिए। नाफा आर्जनको दौडमा नबिल बैंकले आफ्नो विरासत कायम राख्दै सबैलाई पछाडि पारेको छ।
नबिलले यो अवधिमा कुल ७ अर्ब ६६ करोड ९० लाख रुपैयाँ खुद नाफा कमाउँदै आफूलाई नाफाका हिसाबले सबैभन्दा अघि राख्न सफल भएको छ। गत वर्ष यो बैंकको नाफा ५ अर्ब ६० करोड रुपैयाँ रहेको थियो। यो अवधिमा बैंकको नाफा ३६.८६ प्रतिशतले वृद्धि भएको हो।
नाफामा नबिललाई पछ्याइरहेको ग्लोबल आइएमई बैंकले यो अवधिमा ५ अर्ब १९ करोड १० लाख रुपैयाँ नाफा कमाए पनि उसको नाफामा गत वर्षको तुलनामा ३.०७ प्रतिशतको गिरावट देखिएको छ।
चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा कुमारी बैंकले आफ्नो नाफामा ८३३.१० प्रतिशतको बढोत्तरी गर्दै ४ अर्ब ४९ करोड ६० लाख रुपैयाँ पुर्याएको छ, जबकि गत वर्षको यसै अवधिमा यसको नाफा मात्र ४८ करोड १० लाख रुपैयाँ थियो।
यो अवधिमा राष्ट्रिय वाणिज्य बैंकले ८१.६४ प्रतिशत र प्राइम बैंकले ३१.७४ प्रतिशतले नाफा बढाएर आफ्नो वित्तीय अवस्थामा सुधार गरेका छन्। सिद्धार्थ बैंक र सानिमा बैंकको नाफामा पनि क्रमशः १८.७८ र ४३.६६ प्रतिशतको वृद्धि देखिएको छ।
कुल २० बैंकमध्ये ७ वटा बैंकको नाफामा गिरावट आएको छ। कुनै समय आक्रामक व्यवसाय गर्ने एनआइसी एशिया बैंकको नाफा ३०.४४ प्रतिशतले खुम्चिएर ३३ करोड २० लाखमा झरेको छ। नेपाल बैंकको नाफामा पनि ९.१४ प्रतिशतले गिरावट आएको छ। त्यस्तै प्रभु बैंकको नाफा ४१.७० प्रतिशतले घटेको छ। कृषि विकास, ग्लोबल आइएमई, हिमालयन र सिटिजन्स बैंकको नाफामा गिरावट देखिएको छ।



