काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि खेलकुद, स्वास्थ्य, वातावरण तथा सरसफाइ क्षेत्रलाई प्राथमिकतामा राख्दै विभिन्न नयाँ कार्यक्रम सार्वजनिक गरेको छ।
आइतबार सार्वजनिक गरिएको नीति तथा कार्यक्रममा महानगरले महानगरले खेलाडीहरूलाई ऊर्जाशील र व्यवसायिक बनाउन विभिन्न खेलकुद प्रतियोगिता सञ्चालनमा सहजीकरण गर्ने तथा खेल प्रतिभाको पहिचान गरी सम्मान र प्रोत्साहन गर्ने जनाएको छ। साथै विद्यालयका कक्षाकोठामा तापीय आराम, प्राकृतिक भेन्टिलेसन र कार्बन डाइअक्साइड (CO2) सान्द्रतासम्बन्धी अध्ययन गरी त्यसका आधारमा प्राकृतिक भेन्टिलेसनसम्बन्धी मापदण्ड निर्धारण तथा कार्यान्वयन गरिने नीति लिइएको छ।
स्वास्थ्य क्षेत्रतर्फ शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रहरूको क्षमता विस्तार गरी समयसापेक्ष, आधुनिक तथा प्रविधिमैत्री स्वास्थ्य सेवा सञ्चालन गरिनेछ। आरोग्य जीवनशैली प्रवर्द्धनका लागि आयुर्वेद, वैकल्पिक चिकित्सा, योग, व्यायाम, प्राणायाम र ध्यानसम्बन्धी कार्यक्रम सञ्चालन गरिने महानगरले जनाएको छ।
हाल सञ्चालनमा रहेको निःशुल्क एम्बुलेन्स सेवालाई निरन्तरता दिँदै साँघुरा सडक र बढ्दो सवारी चापलाई ध्यानमा राखेर बाईक एम्बुलेन्स सेवा सुरु गरिनेछ। मृगौला रोगीका लागि डायलसिस सेवा सहजीकरण गरिनुका साथै मातृशिशु तथा प्रजनन स्वास्थ्यसम्बन्धी विशेष कार्यक्रम सञ्चालन गरिनेछ। सार्वजनिक स्थानमा स्तनपान तथा शिशु हेरचाह कक्ष (Breast-feeding and Care Blocks) व्यवस्थापन गर्ने योजना पनि महानगरको छ।
महानगरभित्र सञ्चालित अस्पताल तथा स्वास्थ्य संस्थाको नियमित अनुगमन गरी गुणस्तरीय सेवा सुनिश्चित गरिनेछ। विपन्न तथा असहाय नागरिकलाई १० प्रतिशत निःशुल्क उपचार उपलब्ध गराउने व्यवस्था कडाइका साथ लागू गरिने महानगरले जनाएको छ। साथै महानगरवासीलाई विशिष्ट स्वास्थ्य सेवा उपलब्ध गराउन महानगर अस्पताल निर्माण गर्ने योजना अघि सारिएको छ।
मानसिक स्वास्थ्य समस्याको बढ्दो चुनौतीलाई सम्बोधन गर्न मनोपरामर्श सेवा तथा कल सेन्टर सञ्चालनमा ल्याइनेछ। ज्येष्ठ नागरिकका लागि निमोनिया खोप, नियमित स्वास्थ्य परीक्षण, स्वास्थ्य संस्थासँगको सहकार्यमा सेवा तथा आकस्मिक स्वास्थ्य शिविर सञ्चालन गरिने कार्यक्रम पनि समावेश गरिएको छ।
वातावरण तथा सरसफाइतर्फ महानगरले ‘सर्कुलर इकोनोमी’ अवधारणालाई प्रवर्द्धन गर्ने गरी फोहोर व्यवस्थापन प्रणालीलाई थप व्यवस्थित बनाउने भएको छ। महानगर क्षेत्रलाई सात क्लस्टरमा विभाजन गरी प्रविधिमार्फत फोहोरको उचित व्यवस्थापन गरिनेछ। स्थानान्तरण केन्द्रबाट निस्कने न्यून फोहोरलाई बञ्चरेडाँडा ल्याण्डफिल साइटमा मेकानाइज्ड मेटेरियल रिकभरी फ्यासिलिटीमार्फत वैज्ञानिक ढंगले व्यवस्थापन गरिने योजना छ।
सार्वजनिक तथा खाली स्थानलाई बालबालिका र ज्येष्ठ नागरिकमैत्री पार्कका रूपमा विकास तथा विस्तार गरिनेछ। फोहोर व्यवस्थापन सेवा शुल्क ‘प्रदूषकले तिर्ने सिद्धान्त’ (Polluters Pay Principle) अनुसार एकद्वार प्रणालीमार्फत संकलन गर्ने व्यवस्था मिलाइनेछ। साथै बञ्चरेडाँडा ल्याण्डफिल साइटमा फोहोर विसर्जन गर्ने स्थानीय तहबाट फोहोरको परिमाण र प्रकृतिका आधारमा वित्तीय साझेदारी गराउन पहल गरिने महानगरले जनाएको छ।


