काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाको चुक्ता पूँजीको आकार करिब २९ अर्ब रुपैयाँले बढेको छ ।
चालु आर्थिक वर्ष २०८२/८३ को १० महिना (वैशाखसम्म) बैंक तथा वित्तीय संस्थाहरुको चुक्ता पूँजी ४ खर्ब ७२ अर्ब ५४ करोड रुपैयाँ रहेको छ । जुन अघिल्लो आर्थिक वर्ष २०८१/८२ को सोही अवधिको तुलनामा २८ अर्ब ८९ करोडले रुपैयाँले बढी हो । अघिल्लो आर्थिक वर्षको १० महिनाको अवधिमा बैंक तथा वित्तीय संस्थाहरुको चुक्ता पूँजी ४ खर्ब ४३ अर्ब ६५ करोड रुपैयाँ रहेको थियो । समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाको चुक्ता पूँजी मात्र नभई पूँजी कोष समेत बलियो अवस्थामा रहेको राष्ट्र बैंकका अधिकारीहरु बताउछन् ।
राष्ट्र बैंकका अनुसार वाणिज्य बैंक र विकास बैंकले चुक्ता पूँजीमा वृद्धि गर्दा समग्रमा बैंक तथा वित्तीय संस्थाको चुक्ता पूँजीको आकार बढेको हो ।चालु आर्थिक वर्षको १० महिनामा वाणिज्य बैंकको चुक्ता पुँजी ४ खर्ब ११ अर्ब २२ करोड
रुपैयाँ रहेको छ । जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २५ अर्ब ९० करोड रुपैयाँले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा वािणज्य बैंकको चुक्ता पूँजी ३ खर्ब ८५ अर्ब ३२ करोड रुपैयाँ रहेको थियो ।
चालु आर्थिक वर्षको १० महिनामा विकास बैंकको चुक्ता पुँजी ४५ अर्ब ९९ करोड ८० लाख रुपैयाँ रहेको छ । जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २ अर्ब ९७ करोड ४० लाख रुपैयाँले बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा विकास बैंकको चुक्ता पूँजी ४३ अर्ब २ करोड ४० लाख रुपैयाँ रहेको थियो ।
चालु आर्थिक वर्षको १० महिनामा विकास बैंकहरुको चुक्ता पुँजी १५ अर्ब ३१ करोड रुपैयाँ रहेको छ । जुन गत आवको सोही अवधिको तुलनामा ४ करोड ५० लाखले बढी हो । गत आवको १० महिनाको अवधिमा विकास बैंकहरुको चुक्ता पुँजी १५ अर्ब २७ करोड रुपैयाँ रहेको थियो ।
राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको चुक्ता पूँजी वृद्धिलाई लिएको नीतिका कारण बैंक तथा वित्तीय संस्थाको चुक्ता पूँजी सबल रहेको पाइन्छ । बैंक तथा वित्तीय संस्थाका शेयरमा आर्कषण देखिदाँ ती संस्थाहरुको चुक्ता पूँजी समेत प्रभावित हुन पुगेको हो । बैंक तथा वित्तीय विशेष गरी वाणिज्य बैंक र विकास बैंकको सेयर किन्ने सदस्यहरु बढेका छन् अर्थात् संस्थापक शेयर र साधारण शेयरमा समेत आर्कषण देखिएको छ । पूँजी कोष सबल राख्नका लागि बैंक तथा वित्तीय संस्थाले लगानी गर्ने क्षमतामा समेत सुधार गरी बजारमा आफूलाई बलियो देखाउने गरेको बैंकरहरु बताउछन् । उनीहरुका अनुसार राष्ट्र बैंकको नियमन र बैंक तथा वित्तीय संस्थाले गरेको तलरता (लगानीयोग्य रकम) व्यवस्थापनका कारण पनि चुक्ता पूँजीको कोषमा सुधार देखिएको हो ।


