CLI

अमेरिका–इरान सम्झौतापछि विश्व बजारमा पेट्रोलियम पदार्थको मूल्यमा गिरावट, एसियाको शेयर बजारमा सकारात्मक प्रभाव

काठमाडौं । अमेरिका र इरानबीच युद्ध अन्त्यका लागि भएको भनिएको सम्झौतापछि अन्तर्राष्ट्रिय तेल बजारमा उल्लेख्य गिरावट आएको छ। पाकिस्तानको मध्यस्थतामा भएको उक्त सम्झौताले प्रमुख समुद्री मार्ग होर्मुज जलडमरूमध्य पुनः सञ्चालन हुने अपेक्षा बढेपछि सोमबार एसियाली बजारमा तेलको मूल्य घटेको हो।

विश्वव्यापी तेलको मापदण्ड मानिने ब्रेन्ट क्रुडको मूल्य ४.८ प्रतिशतले घटेर प्रतिव्यारेल ८३.१८ अमेरिकी डलर पुगेको छ। त्यस्तै अमेरिकी बजारमा कारोबार हुने कच्चा तेलको मूल्य ५.६ प्रतिशतले घटेर प्रतिव्यारेल ८०.१३ डलरमा झरेको छ।

पाकिस्तानका प्रधानमन्त्री शेहबाज शरीफले आगामी जुन १९ मा स्विट्जरल्यान्डमा सम्झौतामा हस्ताक्षर गर्ने औपचारिक समारोह आयोजना गरिने जानकारी दिएका छन्। इरानका उपविदेशमन्त्री काजेम घरिबाबादीले पनि सरकारी टेलिभिजनमार्फत अमेरिकासँग सम्झौता अन्तिम रूप दिइएको पुष्टि गरेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत “तेल बग्न देऊ” भन्दै सम्झौताप्रति सकारात्मक प्रतिक्रिया जनाएका छन्।

यद्यपि ऊर्जा बजार विश्लेषकहरूले सम्झौताका विस्तृत विवरण सार्वजनिक नभएकाले बजारमा अझै केही समय अनिश्चितता कायम रहन सक्ने बताएका छन्। भान्डा इनसाइट्सकी विश्लेषक वन्दना हरिका अनुसार सम्झौताका शर्तहरू अस्पष्ट रहेकाले आगामी दिनहरूमा तेल बजारमा उतारचढाव जारी रहन सक्छ।

गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि हवाई आक्रमण गरेपछि होर्मुज जलडमरूमध्य प्रभावकारी रूपमा बन्द भएको थियो। इरानले उक्त मार्ग प्रयोग गर्ने जहाजमाथि आक्रमण गर्ने चेतावनी दिएपछि विश्व ऊर्जा आपूर्तिमा चिन्ता बढेको थियो। विश्वको करिब २० प्रतिशत तेल तथा तरलीकृत प्राकृतिक ग्यास (एलएनजी) यही जलमार्ग हुँदै ढुवानी हुने गर्दछ।

द्वन्द्वका कारण अन्तर्राष्ट्रिय ऊर्जा बजारमा ठूलो उतारचढाव देखिएको थियो। युद्धअघि प्रतिव्यारेल करिब ७० डलरमा कारोबार भइरहेको ब्रेन्ट क्रुडको मूल्य बढेर करिब १२० डलरसम्म पुगेको थियो।

यद्यपि विज्ञहरूले जलडमरूमध्य खुल्दैमा तेल आपूर्ति तत्काल सामान्य अवस्थामा फर्किने सम्भावना कम रहेको बताएका छन्। लिपोव आयल एसोसिएट्सका एन्ड्रु लिपोवका अनुसार समुद्री मार्गमा राखिएका बारुदी सुरुङ हटाउन केही सातादेखि छ महिनासम्म लाग्न सक्छ। साथै, लामो समयदेखि प्रतीक्षारत ट्यांकरहरूको चाप र उत्पादन पुनः सञ्चालन प्रक्रियाका कारण तेल ढुवानी पूर्ण रूपमा सामान्य हुन अझै केही हप्ता लाग्ने अनुमान गरिएको छ।

सम्झौताप्रति लगानीकर्ताले सकारात्मक प्रतिक्रिया जनाएपछि एसियाली शेयर बजारहरू पनि उकालो लागेका छन्। जापानको निक्केई २२५ सूचकांक सोमबार बिहानको कारोबारमा ५.४ प्रतिशतले बढ्दा दक्षिण कोरियाको कोस्पी सूचकांक ५.५ प्रतिशतभन्दा बढीले वृद्धि गरेको छ।

एजेन्सीको सहयोगमा

Leave Your Comment

Related News