काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत हिजो भएको समूह चरणको खेलमा जर्मनीले पहिलो पटक विश्वकप खेलिरहेको कुरासाओलाई ७–१ को फराकिलो अन्तरले पराजित गरेको छ। खेलमा जर्मनीले ७ गोल गर्दा कुरासाओले मात्र १ गोल फर्काउन सक्यो, जसका कारण कुरासाओ विश्वकपको एउटै खेलमा ७ गोल खाने पाँचौँ देश बनेको छ।
खेल हारे पनि जम्मा १ लाख ५८ हजार मात्र जनसङ्ख्या भएको कुरासाओ विश्वकपको ९६ वर्ष लामो इतिहासमै छनोट हुने सबैभन्दा सानो राष्ट्र बनेर नयाँ रेकर्ड राख्न सफल भएको छ। कुरासाओको कुल क्षेत्रफल १७१ वर्ग माइल (करिब ४४४ वर्ग किलोमिटर) रहेको छ।
यसअघि सन् २०१८ मा आइसल्याण्डसँग रहेको सबैभन्दा कम जनसङ्ख्या भएको देशको कीर्तिमान समेत कुरासाओले तोडेको छ।
भौगोलिक रुपमा भेनेजुएला नजिकै क्यारिबियन सागरमा अवस्थित र नेदरल्याण्ड्स को हिस्सा रहेको यस टापु राष्ट्रको राजधानी सहर ‘विलेमस्टैड’ हो, जहाँका पुराना रङ्गीचङ्गी भवनहरु निकै प्रख्यात छन्।
राष्ट्रले छनोट खेलहरुमा जमैका र ट्रिनिडाड जस्ता बलिया टोलीहरुलाई हराएर विश्वकपमा आफ्नो ठाउँ पक्का गरेको थियो।
डच, अङ्ग्रेजी र पोर्चुगिज, स्पेनिस तथा अफ्रिकी भाषा मिलेर बनेको आफ्नै मौलिक ‘पापियामेन्टु’ भाषा बोलिने यो बहुभाषिक देशका लागि विश्वकप जत्रो ठूलो मञ्चमा पुग्नु नै खेलकुद इतिहासको सबैभन्दा ठूलो र गौरवपूर्ण सफलता हो।


