CLI

घरजग्गा कारोबारमा गिरावट: जेठमा करिब साढे ५ अर्ब मात्र राजस्व संकलन

काठमाडौं । देशभरिको घरजग्गा कारोबारमा गिरावट आएको छ। भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८२/८३ को जेठ महिनामा घरजग्गाको खरिदबिक्री र राजस्व सङ्कलन दुवै घटेको हो।

जेठ महिनामा देशभरिका भूमि प्रशासन  कार्यालयहरुबाट ५४ हजार ७ सय २४ वटा घरजग्गा कारोबार भएका छन्। यो सङ्ख्या अघिल्लो महिना वैशाख को तुलनामा ४ हजार १ सय ६२ वटाले कम हो। वैशाखमा ५८ हजार ८ सय ८६ वटा घरजग्गा कारोबार भएका थिए। त्यस्तै, गत वर्षको जेठ महिनाको तुलनामा पनि यसपालि २.२९ प्रतिशत अर्थात १ हजार २ सय ८५ वटाले कारोबार घटेको छ।

घरजग्गा कारोबार घटेसँगै सरकारले उठाउने राजस्वमा पनि कमी आएको छ। जेठ महिनामा सरकारले कुल ५ अर्ब २४ करोड ४२ लाख ५१ हजार १ सय १ रुपैयाँ राजस्व सङ्कलन गरेको छ। जबकी, यसको अघिल्लो महिना ६ अर्ब २६ करोड ३८ लाख रुपैयाँ राजस्व उठेको थियो।

सरकारलाई घरजग्गा कारोबारबाट विभिन्न शीर्षकमा राजस्व प्राप्त हुन्छ। जसमा सेवा कर, रजिस्ट्रेसन (दर्ता) दस्तुर र पुँजीगत लाभकर मुख्य हुन्। विभागका अनुसार जेठ महिनामा सेवा करबाट २८ करोड ६६ लाख ३२ हजार रुपैयाँ, रजिस्ट्रेसन दस्तुरबाट २७ करोड ८५ लाख रुपैयाँ र पुँजीगत लाभकरबाट २१ करोड २३ लाख रुपैयाँ राजस्व सङ्कलन भएको छ।

Leave Your Comment

Related News