CLI

मधेस प्रदेशले ल्यायो ४१ अर्ब १३ करोडको बजेट

जनकपुरधाम । मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ४१ अर्ब १३ करोड ८६ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। प्रदेश सभाको सोमबार बसेको बैठकमा अर्थमन्त्री युवराज भट्टराईले उक्त बजेट प्रस्तुत गरेका हुन्।

नयाँ बजेट चालु आर्थिक वर्ष २०८२/८३ को ४६ अर्ब ५८ करोड रुपैयाँको बजेटको तुलनामा करिब १३ प्रतिशतले कम रहेको छ। प्रदेश सरकारले सीमित स्रोत–साधनका बीच विकास निर्माण र पूर्वाधार विस्तारलाई प्राथमिकतामा राख्दै बजेट विनियोजन गरेको जनाएको छ।

बजेटअनुसार कुल विनियोजनमध्ये चालुतर्फ १४ अर्ब ६६ करोड रुपैयाँ अर्थात् ३५.६४ प्रतिशत र पुँजीगततर्फ २६ अर्ब ४७ करोड रुपैयाँ अर्थात् ६४.३६ प्रतिशत विनियोजन गरिएको छ। यसले प्रदेश सरकारले प्रशासनिक खर्चभन्दा विकास निर्माण र पूँजीगत आयोजनामा बढी जोड दिएको देखिन्छ।

अर्थमन्त्री भट्टराईका अनुसार बजेट कार्यान्वयनका लागि आवश्यक स्रोत व्यवस्थापन विभिन्न शीर्षकबाट गरिनेछ। आन्तरिक राजस्वबाट ११ अर्ब २२ करोड ७५ लाख रुपैयाँ संकलन हुने अनुमान गरिएको छ भने राजस्व बाँडफाँटबाट १२ अर्ब ८३ करोड रुपैयाँ प्राप्त हुने अपेक्षा गरिएको छ।

त्यसैगरी, संघीय सरकारबाट वित्तीय समानीकरण अनुदानस्वरूप ९ अर्ब ४९ करोड ५९ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ। गत आर्थिक वर्षको नगद मौज्दातबाट ६ अर्ब ८ करोड ५२ लाख रुपैयाँ बजेटको स्रोतका रूपमा उपयोग गरिने अर्थमन्त्रीले जानकारी दिए।

प्रदेश सरकारले आगामी वर्ष कृषि, पूर्वाधार, शिक्षा, स्वास्थ्य तथा रोजगारी सिर्जनालाई केन्द्रमा राखेर बजेट कार्यान्वयन गर्ने लक्ष्य लिएको जनाएको छ। बजेटमाथि अब प्रदेश सभामा छलफल हुने छ।

Leave Your Comment

Related News