CLI

निर्माणाधीन संसद् भवनको निरीक्षणमा सभामुख अर्याल, ढिलाइप्रति निर्माण कम्पनी जवाफदेही बन्न निर्देशन (तस्बिर)

काठमाडौं । सभामुख डीपी अर्यालले सिंहदरबारस्थित निर्माणाधीन संसद् भवनको निरीक्षण गर्दै निर्माण कार्यमा भएको ढिलाइप्रति कडा असन्तुष्टि व्यक्त गरेका छन्।

आज संसद् सचिवालयका कर्मचारीहरूसहित निरीक्षणमा पुगेका सभामुख अर्यालले भवन निर्माणको प्रगति र काम सम्पन्न हुने समयबारे जानकारी लिएका थिए।

गत जेठ १५ गते संघीय संसद्को बजेट अधिवेशनका क्रममा यही भवनबाट बजेट सार्वजनिक गर्ने लक्ष्य राखिएको भए पनि भवन हालसम्म तयार हुन नसकेको भन्दै उनले निर्माण कम्पनी तथा सम्बन्धित निकायलाई जवाफदेही बन्न निर्देशन दिए।

निरीक्षणका क्रममा सभामुख अर्यालले संसद् भवन तयार हुने यकिन मिति तत्काल उपलब्ध गराउन निर्देशन दिँदै अन्यथा दैनिक एक करोड रुपैयाँसम्म जरिवाना तिराउने चेतावनी दिएका छन्।

उनले सहरी विकास मन्त्री र मन्त्रालयका सचिवलाई तत्काल बोलाएर निर्माण कार्य शीघ्र सम्पन्न गर्न आवश्यक पहल गर्नसमेत निर्देशन दिएका छन्।

ढिलाइप्रति आक्रोश व्यक्त गर्दै सभामुख अर्यालले भने, “रातदिन काम गरेर भए पनि बोलेको कुरा पूरा गर्नुपर्छ। बहाना बनाइरहनुहुन्छ। तपाईंहरूले हामीलाई मात्र होइन, राष्ट्रलाई नै अपमान गर्नुभएको हो। अब मलाई स्पष्ट निष्कर्ष चाहिन्छ, यहाँ म फेरि टेक्दा पनि अधुरो काम देख्न चाहन्नँ।”

संसद् भवन निर्माणमा पटक–पटक समयसीमा थपिए पनि काम सम्पन्न हुन नसकेको भन्दै यसको प्रभाव संसद्को नियमित गतिविधिमा समेत परेको छ। सभामुखको पछिल्लो निर्देशनपछि निर्माण कार्यलाई तीव्रता दिने अपेक्षा गरिएको छ।

Leave Your Comment

Related News