हेटौँडा । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि करिब ६६ अर्ब रुपैयाँ बराबरको बजेट ल्याउने तयारी गरेको छ।
आर्थिक मामिला तथा योजना मन्त्रालय स्रोतका अनुसार प्रदेश सरकारले चालु आर्थिक वर्षको तुलनामा केही घटेको आकारको बजेट प्रस्तुत गर्ने तयारी गरेको हो। बजेटमा भौतिक पूर्वाधार विकासलाई मुख्य प्राथमिकतामा राखिएको बताइएको छ।
आज अपराह्न ४ बजे बसेको मन्त्रिपरिषद् बैठकले आर्थिक मामिला तथा योजना मन्त्रालयको सिफारिसमा आगामी आर्थिक वर्षको बजेट प्रदेश सभामा प्रस्तुत गर्न स्वीकृति दिएको छ।
मन्त्रिपरिषद् बैठक सम्पन्न लगत्तै प्रदेश सभामा आर्थिक वर्ष २०८३/८४ को आय–व्यय विवरण (बजेट) प्रस्तुत गरिने कार्यसूची रहेको छ। बजेटमार्फत सडक, पुल, खानेपानी तथा अन्य विकास निर्माणका योजनालाई प्राथमिकता दिइने जनाइएको छ।
बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ का लागि ६७ अर्ब ४७ करोड रुपैयाँको बजेट ल्याएको थियो। आगामी वर्षको बजेट भने त्यसको तुलनामा केही कम आकारको हुने देखिएको छ।
प्रदेश सरकारले बजेटमार्फत आर्थिक वृद्धि, रोजगारी सिर्जना, सेवा प्रवाह सुधार तथा विकास आयोजनाको प्रभावकारी कार्यान्वयनलाई जोड दिने अपेक्षा गरिएको छ। बजेट सार्वजनिक भएपछि यसको पूर्ण आकार, स्रोत व्यवस्थापन तथा क्षेत्रगत प्राथमिकताबारे थप विवरण खुल्नेछ।


