CLI

सुदूरपश्चिमको बजेट ३७ अर्ब ७० करोड कृषि र पूर्वाधार प्राथमिकतामा

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ३७ अर्ब ७० करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । आर्थिक मामिलामन्त्री बिक्रम सिंह धामीले सोमबार मध्यरात प्रदेश सभामा आगामी वर्षको आय–व्ययको अनुमानित विवरण प्रस्तुत गरेका हुन् ।

सरकारले ल्याएको यो बजेट गत आर्थिक वर्ष २०८२/८३ को तुलनामा करिब ४ अर्ब २० करोडले बढी हो । गत वर्ष सरकारले ३३ अर्ब ५० करोडको बजेट ल्याएको थियो । सत्ता साझेदार दलहरूबिचको कुरा नमिल्दा दिनभर अन्योलमा परेको बजेट सहमति जुटेपछि राति साढे ११ बजेपछि मात्रै संसद्मा पेस गरिएको थियो । आगामी आर्थिक वर्षको बजेटमा सरकारले कृषि क्षेत्रलाई उत्पादन र रोजगारीसँग जोड्ने लक्ष्य राखेको छ । कृषि तथा पशुपक्षी क्षेत्रमा रोजगारी सिर्जना गर्न ५५ करोड ४४ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

यस्तै, उत्कृष्ट कृषकका लागि ‘भीमदत्त पन्त कृषक पुरस्कार’ का लागि १ करोड र प्राङ्गारिक मल प्रवद्र्धनका लागि १ करोड ७२ लाख रुपैयाँ छुट्याइएको छ । दुग्धजन्य पदार्थको विविधीकरणका लागि धुलो दूध कारखाना स्थापना गर्न ५ करोड र बाजुराको भेँडापालन तथा ऊन गलैँचा उद्योगका लागि ६ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको छ । पूर्वाधारतर्फ प्रादेशिक गौरवका सडकका लागि १ अर्ब ७४ करोड ४४ लाख रुपैयाँ विनियोजन गरिएको छ । यस्तै, झुलुङ्गे पुल निर्माणका लागि १ अर्ब ५५ करोड ६० लाख रुपैयाँ छुट्याइएको छ । विश्व बैंकको सहयोगमा साइपाल, अपि र बाजुराका सडक सञ्जाल जोड्न पर्याप्त बजेटको व्यवस्था गरिएको मन्त्री धामीले बताए ।

शिक्षातर्फ प्रदेश नमुना विद्यालय’ कार्यक्रमका लागि ५ करोड ५० लाख र प्रत्येक जिल्लामा एक–एक वटा नमुना क्याम्पस बनाउन ४ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको छ । विद्यालयका भान्छा सुधारका लागि ६ करोड ५० लाख र बाल विकास नमुना कार्यक्रमका लागि १ अर्ब ७८ करोड रुपैयाँ विनियोजन गरिएको छ । यस्तै अपि, सुर्मा पदयात्राका लागि ५० लाख, ब्यास क्षेत्रका लागि २ करोड र कञ्चनपुरको पर्यटन हबका लागि १० करोड बजेट विनियोजन गरिएको छ ।  विपद् प्रभावित परिवारका लागि २ करोड र वन डढेलो नियन्त्रणका लागि विशेष बजेट विनियोजन गरेको छ । यस्तै प्रदेश सरकारले हेलो सिएम र सिएम एक्सन कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।

Leave Your Comment

Related News