काठमाडौं । २०२६ को फिफा विश्वकप सुरु हुनुअघि केप भर्डका गोलकिपर जोसिमार डियास, जो ‘भोजिन्हा’ नामले बढी चिनिन्छन्, उनको इन्स्टाग्राममा जम्मा ५० हजार जति फलोअर्स थिए।
तर, एटलान्टामा भएको खेलमा उपाधि दाबेदार स्पेनलाई ०-० को बराबरीमा रोके । खेल सकिएको केही घण्टामै भोजिन्हाको फलोअर्स संख्या बढना थालेको थियो । खेलको अप्रत्याशित ‘म्यान अफ द म्याच’ बनेका यी गोलकिपरको फलोअर्स संख्या यतिबेला ५० लाख (५ मिलियन) नाघिसकेको छ र यो लगातार बढ्दो क्रममा छ।
गत जुन ३ मा भर्खरै ४० वर्ष पुगेका भोजिन्हाले सन् २००७ देखि सिनियर स्तरमा फुटबल खेलिरहेका छन्। उनले कहिल्यै कुनै ठूलो क्लबबाट खेल्ने मौका पाएनन्। उनले खेलेको सबैभन्दा चिनिएको क्लब पोर्चुगिज टोली गिल् विसेन्टे हो, जहाँ उनले २०१६-१७ को सिजनमा मात्र २८ खेल खेलेका थिए।
उनले सेप्टेम्बर २०१२ मा अफ्रिकन कप अफ नेसन्स (एफकन ) छनोट अन्तर्गत क्यामरुनविरुद्धको २-० को जितबाट केप भर्डको राष्ट्रिय टोलीमा डेब्यु गरेका थिए। उनले धेरै पटक एफकन प्रतियोगिताहरू खेलेका छन्, तर विश्वकप भने उनको र उनको देशकै इतिहासमा अहिलेसम्मकै सबैभन्दा ठूलो मञ्च हो।
लामिने यामाल, निको विलियम्स, पेड्री, रोड्री जस्ता स्टार खेलाडीहरूले भरिएको स्पेनिस टोलीविरुद्ध ‘क्लिन सिट’ राख्दै भोजिन्हाले आफ्नो बलियो छाप छोडे। खेलभरि उनले उत्कृष्ट ७ वटा बचाउ गरे ।


