CLI

ठगी मुद्दामा पक्राउ परेका सेफ सन्तोष साह रिहा

काठमाडौं । ठगी मुद्दामा पक्राउ परेका चर्चित नेपाली सेफ सन्तोष साह रिहा भएका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार पीडित पक्षले दाबी गरेको रकम बुझाएपछि साहलाई सोमबार बेलुका हाजिरी जमानीमा रिहा गरिएको हो।

प्रहरीका अनुसार पछिल्लो ठगीसम्बन्धी उजुरीमा साहले ४ लाख ५० हजार रुपैयाँ पीडितलाई भुक्तानी गरेपछि रिहाइको प्रक्रिया अघि बढाइएको थियो। उनीविरुद्ध शकुन्तला अधिकारीले ठगी गरेको आरोपमा प्रहरीमा जाहेरी दिएकी थिइन्।

घटनाको विवरणअनुसार काठमाडौंको गैरीधारास्थित एक रेस्टुरेन्ट खरिदका क्रममा साहले रकम नभएको बैंक खाताको चेक दिएको आरोप लागेको थियो। सोही विषयमा अधिकारीले २५ लाख रुपैयाँको चेक अनादर मुद्दा दायर गरेकी थिइन्।

उक्त मुद्दामा काठमाडौं जिल्ला अदालतले साहलाई दोषी ठहर गर्दै २५ लाख रुपैयाँ बिगो भराउन आदेश दिएको थियो। अदालतले उनलाई एक महिना कैद र १ लाख २५ हजार रुपैयाँ जरिवानासमेत तोकेको थियो। तर फैसला सुनाइँदा साह अदालतमा उपस्थित नभएको बताइएको छ।

पीडित पक्षले अदालतको फैसला कार्यान्वयन नभएको र साहले बेवास्ता गर्दै आएको गुनासो गरेपछि पुनः ४ लाख ५० हजार रुपैयाँ ठगी गरेको आरोपसहित जाहेरी दर्ता गराएको थियो।

सोही जाहेरीका आधारमा काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले साहलाई शुक्रबार राति जनकपुरबाट पक्राउ गरी काठमाडौं ल्याएको थियो।

पक्राउपछि जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा रहेका साहले पीडितले दाबी गरेको रकम बुझाएपछि रिहा भएका हुन्।

Leave Your Comment

Related News