CLI

युवतीमाथि खुकुरी देखाएर कुटपिट गरेको भिडियो पोस्ट गर्ने युवक पक्राउ

काठमाडौं । दाङको तुलसीपुरमा एक युवतीलाई खुकुरी देखाएर कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा पोस्ट गर्ने युवक पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार तुलसीपुर उपमहानगरपालिका–२ भंके निवासी २४ वर्षीय रमेश ठाडा मगरले करिब तीन महिनाअघि एक युवतीलाई जङ्गल क्षेत्रमा लगेर खुकुरी देखाउँदै डर–धम्की दिई कुटपिट गरेको भिडियो मंगलबार बेलुका ८ः३० बजे आफ्नै फेसबुक आईडीमार्फत सार्वजनिक गरेका थिए।

भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरी टोलीले मंगलबार राति १०ः४० बजे मगरलाई उनकै घरबाट नियन्त्रणमा लिएको हो।

घटनामा संलग्न रहेको आशंकामा तुलसीपुर–२ बालापुर निवासी २१ वर्षीय जीवराज खत्रीलाई पनि प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रहरीले रमेशको साथबाट विभिन्न प्रकारका लागुऔषधसमेत बरामद गरेको छ। बरामद लागुऔषधमा प्रेगाम्याक्स १ ट्याब्लेट, ट्रोमो ४१ ट्याब्लेट, एन्टिकोप २ ट्याब्लेट र नाइट्राजेपाम ५ ट्याब्लेट गरी झण्डै ५० ट्याब्लेट रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

पक्राउ परेका दुवै जनाविरुद्ध कुटपिट, धम्की तथा लागुऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Leave Your Comment

Related News