CLI

चिया निर्यात समस्या समाधानका लागि कूटनीतिक पहल, पेट्रोलियम भण्डारण क्षमता विस्तार हुँदै : मन्त्री यादव

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले इलाम र झापामा उत्पादित चिया भारत निर्यातमा देखिएको समस्या समाधानका लागि सरकारले कूटनीतिक पहल गरिरहेको बताएकी छन्।

प्रतिनिधिसभाको बुधबारको बैठकमा विनियोजन विधेयक, २०८३ अन्तर्गत उद्योग मन्त्रालयको बजेट शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री यादवले चिया तथा अलैँचीलगायत कृषि उपजको भण्डारण र बजारीकरणलाई प्राथमिकतामा राखेर विशेष योजना अघि बढाइएको जानकारी दिइन्।

स्थानीय कृषि उपजको बजार पहुँच विस्तार गर्न निजी क्षेत्रसँग लागत साझेदारीमा गोदामघर निर्माणका लागि स्रोत व्यवस्थापन भइरहेको उनले बताइन्। यसले उत्पादनको भण्डारण र वितरण प्रणालीलाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।

मन्त्री यादवले दैलेखस्थित पेट्रोलियम अन्वेषण परियोजनाको ड्रिलिङ कार्य सम्पन्न भइसकेको र अन्तिम प्रतिवेदन प्राप्त हुने क्रममा रहेको जानकारी दिँदै प्रतिवेदनका सुझावअनुसार सरकारले आगामी कदम चाल्ने बताइन्।

त्यसैगरी, नवलपरासीस्थित धौवादी फलाम खानी सञ्चालनका लागि आवश्यक मोडालिटी तय गरी विस्तृत अध्ययन प्रतिवेदन तयार गर्ने प्रक्रिया अगाडि बढाइने उनको भनाइ छ।

पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थापनलाई सुदृढ बनाउन तीन महिनासम्मको माग धान्न सक्ने भण्डारण क्षमता विस्तार गर्ने लक्ष्यअनुसार काम भइरहेको मन्त्री यादवले बताइन्। उनका अनुसार सिलगुडी–चारआली तथा मोतिहारी–अमलेखगन्ज–लोथर अन्तरदेशीय पेट्रोलियम पाइपलाइन निर्माण परियोजना अगाडि बढिरहेको छ।

सर्लाहीमा पेट्रोलियम पदार्थ भण्डारणस्थल निर्माणका लागि आवश्यक जग्गा व्यवस्थापन भइसकेको र बाँकी प्राविधिक काम नेपाल आयल निगम ले गरिरहेको उनले जानकारी दिइन्।

औद्योगिक पूर्वाधार विकास कार्यक्रमअन्तर्गत कञ्चनपुरको दैजीछेला औद्योगिक क्षेत्रमा पहुँच सडक स्तरोन्नति तथा औद्योगिक क्षेत्र निर्माणको काम अघि बढेको उल्लेख गर्दै मन्त्री यादवले उद्योगी व्यवसायीलाई आवश्यक पूर्वाधारसहित स्थान उपलब्ध गराउने तयारी भइरहेको बताइन्।

उनले औद्योगिकीकरण, ऊर्जा सुरक्षा तथा कृषि उपजको प्रभावकारी बजार व्यवस्थापनमार्फत उत्पादनमूलक अर्थतन्त्र निर्माणमा सरकार केन्द्रित रहेको पनि स्पष्ट पारिन्।

Leave Your Comment

Related News