काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक बिहीबार सुरु भएको छ। बिहान ११ बजेका लागि तय गरिएको बैठक केही ढिलागरी प्रारम्भ भएको हो।
आजको बैठकमा विनियोजन विधेयक–२०८३ अन्तर्गत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, विभिन्न मन्त्रालय, राष्ट्रिय योजना आयोग, राष्ट्रपति कार्यालय तथा उपराष्ट्रपति कार्यालयलगायतका निकायका बजेट शीर्षकमाथि सांसदहरूले उठाएका प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्यसूची रहेको छ।
त्यसैगरी, विनियोजन विधेयक–२०८३ अन्तर्गत विभिन्न मन्त्रालयका बजेट शीर्षकमा २० जना सांसदले दर्ता गराएका खर्च कटौती प्रस्तावहरू निर्णयार्थ प्रस्तुत गरिने संसद् सचिवालयले जनाएको छ।
चालु बजेटमाथिको छलफललाई निरन्तरता दिँदै प्रतिनिधिसभाले विभिन्न मन्त्रालय र निकायका कार्यक्रम तथा बजेट विनियोजनबारे विस्तृत समीक्षा गरिरहेको छ।
यसअघि बुधबार बसेको प्रतिनिधिसभा बैठकमा पनि सांसदहरूले उठाएका जिज्ञासा र प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले जवाफ दिएका थिए। विनियोजन विधेयकमाथिको छलफल जारी रहेसँगै आगामी आर्थिक वर्षको बजेट पारित गर्ने प्रक्रिया अघि बढिरहेको छ।



