CLI

अमेरिका र इरानबीच युद्ध अन्त्य गर्ने सम्झौता, १४ बुँदे सम्झौतामा दुवै पक्षले गरे हस्ताक्षर

काठमाडौं । अमेरिका र इरानका राष्ट्रपतिहरूले युद्ध अन्त्य गर्ने उद्देश्यसहित प्रारम्भिक शान्ति सम्झौतामा हस्ताक्षर गरेका छन्, जसलाई तत्काल लागू गर्ने सहमति भएको छ।

सम्झौताअन्तर्गत होर्मुज जलडमरूमध्य पुनः सञ्चालन गरिने, इरानको “पुनर्निर्माण” का लागि ३०० अर्ब अमेरिकी डलर (लगभग २२४ अर्ब पाउन्ड) बराबरको योजना अघि बढाइने तथा अमेरिकाले इरानमाथि लगाइएका “सबै प्रकारका प्रतिबन्ध” हटाउने उल्लेख गरिएको छ।

तर इरानको आणविक कार्यक्रमसम्बन्धी विषय, जसलाई अमेरिकाले युद्धको मुख्य कारण बताएको थियो, अझै टुंगो लागेको छैन। यस विषयमा थप वार्ता गर्न ६० दिनको समयसीमा तय गरिएको छ, जसलाई आवश्यक परे थप गर्न सकिनेछ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्रान्समा सम्पन्न जी–७ शिखर सम्मेलनका क्रममा उक्त सम्झौतामा हस्ताक्षर गर्दै यसले “आर्थिक विपत्ति” टार्ने बताएका छन्। तर अन्तिम सम्झौता हुन नसके अमेरिकाले इरानमाथि “भीषण बमबारी गर्ने” चेतावनी पनि दिएका छन्।

इरानी राष्ट्रपति मसुद पेजेशकियनले पनि बुधबार उक्त दस्तावेजमा हस्ताक्षर गरेको तेहरानले पुष्टि गरेको छ।

इरानका संसद् सभामुख तथा प्रमुख वार्ताकार मोहम्मद बाकेर गालिबाफले अमेरिकी पक्षप्रति आफ्नो अविश्वास कायमै रहेको बताउँदै इरान अझै सतर्क अवस्थामा रहेको बताएका छन्।

उनले सरकारी सञ्चारमाध्यमसँग भने, “यदि शत्रुले तर्कको भाषा बुझेन भने, हामी फेरि शक्तिको भाषामा जवाफ दिनेछौं।”

अमेरिका र इजरायलले फेब्रुअरी २८ मा इरानविरुद्ध युद्ध सुरु गरेका थिए। युद्धको पहिलो दिनमै इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनी तथा उच्च सैन्य अधिकारीहरूको हत्या गरिएको थियो।

त्यसयता द्वन्द्व चर्किंदै जाँदा ऊर्जा मूल्यमा वृद्धि भएको थियो र मुद्रास्फीतिको दबाब पुनः बढेको थियो। इरानले होर्मुज जलडमरूमध्यलाई व्यवहारतः बन्द गरेपछि विश्व व्यापारमा असर परेको थियो। विश्वको करिब २० प्रतिशत तेल तथा तरलीकृत प्राकृतिक ग्यास (एलएनजी) यही जलमार्गबाट ओसारपसार हुने गर्छ।

फ्रान्सको एभियनले-बैंसस्थित जी–७ सम्मेलनस्थलमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले यो सम्झौताले “विश्वव्यापी आर्थिक मन्दी” टार्न मद्दत गर्ने बताएका छन्।

उनले भने, “म आर्थिक विपत्ति देख्न चाहन्नथेँ। यदि यो अवस्था जारी रह्यो भने त्यस्तो हुन सक्थ्यो।”

ट्रम्पले थपे, “हामीले शान्तिको सम्भावनाबारे कुरा गर्नेबित्तिकै शेयर बजार रकेटझैं माथि उक्लिन्थ्यो।”

यी हुन् १४ बुँदे सम्झौता   

१.संयुक्त राज्य अमेरिका र इस्लामिक गणतन्त्र इरान तथा उनीहरूका सहयोगीहरूले यस समझदारीपत्र (MOU) मा हस्ताक्षर गर्दै लेबनानसहित सबै मोर्चाहरूमा जारी सैन्य कारबाहीको तत्काल तथा स्थायी अन्त्य भएको घोषणा गर्दछन्। साथै, आजदेखि एकअर्काविरुद्ध कुनै पनि युद्ध वा सैन्य कारबाही सुरु नगर्ने, बल प्रयोग वा बल प्रयोगको धम्की नदिने, तथा लेबनानको भौगोलिक अखण्डता र सार्वभौमिकताको सम्मान तथा सुनिश्चितता गर्ने प्रतिबद्धता व्यक्त गर्दछन्। अन्तिम सम्झौताले लेबनानसहित सबै मोर्चाहरूमा युद्धको स्थायी अन्त्य तथा यस बुँदामा उल्लिखित अन्य प्रावधानहरूलाई पुष्टि गर्नेछ।

२.संयुक्त राज्य अमेरिका र इस्लामिक गणतन्त्र इरानले एकअर्काको सार्वभौमिकता तथा भौगोलिक अखण्डताको सम्मान गर्ने तथा एकअर्काको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने प्रतिबद्धता जनाउँछन्।

३.संयुक्त राज्य अमेरिका र इस्लामिक गणतन्त्र इरानले अधिकतम ६० दिनभित्र, आपसी सहमतिमा समय थप गर्न सकिने गरी, अन्तिम सम्झौताका लागि वार्ता गरी सहमति हासिल गर्ने प्रतिबद्धता व्यक्त गर्दछन्।

४.यस समझदारीपत्रमा हस्ताक्षर भएपछि संयुक्त राज्य अमेरिकाले इस्लामिक गणतन्त्र इरानविरुद्ध लगाइएको नौसैनिक नाकाबन्दी तथा अन्य अवरोधहरू हटाउने प्रक्रिया तत्काल सुरु गर्नेछ र ३० दिनभित्र नाकाबन्दी पूर्ण रूपमा अन्त्य गर्नेछ। यस अवधिमा इरानद्वारा युद्धपूर्वको जहाज आवागमनको स्तर पुनःस्थापित गरिँदै जाँदा जहाजहरूको आवागमन पनि सोही अनुपातमा बढाइनेछ। साथै, अन्तिम सम्झौता भएपछि ३० दिनभित्र संयुक्त राज्य अमेरिकाले आफ्ना सैन्य बलहरू इरानको नजिकको क्षेत्रबाट फिर्ता लैजाने प्रतिबद्धता व्यक्त गर्दछ।

५. यस समझदारीपत्रमा हस्ताक्षर भएपछि इस्लामिक गणतन्त्र इरानले आफ्नो सर्वोत्तम प्रयासमार्फत फारसी खाडीबाट ओमान सागर तथा ओमान सागरबाट फारसी खाडीसम्मका व्यावसायिक जहाजहरूको सुरक्षित आवागमन ६० दिनसम्म कुनै शुल्क नलिई सुनिश्चित गर्ने व्यवस्था गर्नेछ। व्यावसायिक जहाजहरूको आवागमन तत्काल सुरु गरिनेछ र प्राविधिक तथा सैन्य अवरोध हटाउने तथा बारुदी सुरुङ निष्क्रिय पार्ने कार्य सम्पन्न गरी ३० दिनभित्र पूर्ण रूपमा सञ्चालनमा ल्याइनेछ। इरानले होर्मुज जलडमरूमध्यको भावी प्रशासन तथा समुद्री सेवासम्बन्धी व्यवस्था निर्धारण गर्न ओमान सल्तनतसँग तथा अन्य फारसी खाडी तटीय राष्ट्रहरूसँग लागू अन्तर्राष्ट्रिय कानुन र तटीय राष्ट्रहरूको सार्वभौम अधिकारअनुसार संवाद गर्नेछ।

६.संयुक्त राज्य अमेरिकाले आफ्ना क्षेत्रीय साझेदारहरूसँग मिलेर इस्लामिक गणतन्त्र इरानको पुनर्निर्माण तथा आर्थिक विकासका लागि कम्तीमा ३०० अर्ब अमेरिकी डलर बराबरको पारस्परिक सहमतिमा आधारित निश्चित योजना तयार गर्ने प्रतिबद्धता व्यक्त गर्दछ। यस योजनाको कार्यान्वयन संयन्त्र अन्तिम सम्झौताको भागका रूपमा ६० दिनभित्र टुंग्याइनेछ। सम्बन्धित वित्तीय कारोबारका लागि आवश्यक सबै इजाजतपत्र, छुट तथा अनुमतिहरू संयुक्त राज्य अमेरिकाले प्रदान गर्नेछ।

७.संयुक्त राज्य अमेरिकाले इस्लामिक गणतन्त्र इरानमाथि लगाइएका सबै प्रकारका प्रतिबन्धहरू, संयुक्त राष्ट्र सुरक्षा परिषद्का प्रस्तावहरू, अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (IAEA) को बोर्ड अफ गभर्नर्सका प्रस्तावहरू तथा अमेरिकी एकपक्षीय प्राथमिक र द्वितीयक प्रतिबन्धहरू समेत, अन्तिम सम्झौताअनुसार तय गरिने समयतालिकामा हटाउने प्रतिबद्धता व्यक्त गर्दछ। दुवै पक्षले प्रतिबन्ध हटाउने विषयको महत्वपूर्णतालाई स्वीकार गर्दै यस विषयमा तत्काल वार्ता गरी पारस्परिक सहमति हासिल गर्ने इच्छा व्यक्त गर्दछन्।

८.इस्लामिक गणतन्त्र इरानले आफूले आणविक हतियार प्राप्त नगर्ने वा विकास नगर्ने प्रतिबद्धतालाई पुनः पुष्टि गर्दछ। दुवै पक्षले इरानसँग मौज्दात रहेका समृद्ध (Enriched) आणविक सामग्रीको व्यवस्थापन पारस्परिक सहमतिमा तय गरिने संयन्त्रअनुसार तथा सातौं बुँदामा उल्लिखित समयतालिकाअनुसार गर्ने सहमति गरेका छन्, जसअन्तर्गत न्यूनतम उपायका रूपमा IAEA को निगरानीमा सो सामग्रीलाई स्थलमै कम समृद्ध स्तरमा रूपान्तरण (Down-blending) गरिनेछ। साथै, दुवै पक्षले इरानको आणविक आवश्यकतासम्बन्धी युरेनियम समृद्धीकरण तथा अन्य सहमतिका विषयहरूबारे अन्तिम सम्झौतामा तय हुने उपयुक्त ढाँचाअनुसार छलफल गर्ने सहमति गरेका छन्। अन्तिम सम्झौताले यस बुँदाका प्रावधानहरूलाई पुष्टि गर्नेछ। दुवै पक्षले आणविक विषयहरूको महत्वपूर्णतालाई स्वीकार गर्दै तत्काल वार्ता गरी पारस्परिक सहमति हासिल गर्ने उद्देश्य व्यक्त गरेका छन्।

९.अन्तिम सम्झौता नभएसम्म संयुक्त राज्य अमेरिका र इस्लामिक गणतन्त्र इरानले यथास्थिति कायम राख्ने सहमति गरेका छन्। इरानले आफ्नो वर्तमान आणविक कार्यक्रमको अवस्था यथावत् राख्नेछ भने संयुक्त राज्य अमेरिकाले कुनै नयाँ प्रतिबन्ध लगाउने छैन र क्षेत्रमा थप सैन्य बल तैनाथ गर्ने छैन।

१०.संयुक्त राज्य अमेरिकाले यस समझदारीपत्रमा हस्ताक्षर भएलगत्तैदेखि प्रतिबन्ध पूर्ण रूपमा अन्त्य नहुँदासम्म अमेरिकी कोष विभागमार्फत इरानी कच्चा तेल, पेट्रोलियम पदार्थ तथा तिनका सहउत्पादनहरूको निर्यातका लागि आवश्यक छुट (Waiver) उपलब्ध गराउनेछ। यसमा बैंकिङ कारोबार, बीमा, ढुवानीलगायत सबै सम्बन्धित सेवाहरू समावेश हुनेछन्।

११.संयुक्त राज्य अमेरिकाले इस्लामिक गणतन्त्र इरानका रोक्का वा सीमित गरिएका कोष तथा सम्पत्तिहरू पूर्ण रूपमा प्रयोग गर्न उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्दछ। यस समझदारीपत्र कार्यान्वयनमा आएपछि ती कोषहरू मुक्त गर्ने प्रक्रियासम्बन्धी व्यवस्था वार्ताका क्रममा दुवै पक्षको सहमतिमा निर्धारण गरिनेछ। ती कोषहरू मूल खातामै राखिएको होस् वा अन्यत्र सारिएको होस्, इरानको केन्द्रीय बैंकले तोकेको अन्तिम लाभग्राहीलाई भुक्तानी गर्न पूर्ण रूपमा प्रयोगयोग्य बनाइनेछ। यसका लागि आवश्यक सबै इजाजतपत्र तथा स्वीकृतिहरू संयुक्त राज्य अमेरिकाले उपलब्ध गराउनेछ।

१२. संयुक्त राज्य अमेरिका र इस्लामिक गणतन्त्र इरानले यस समझदारीपत्रको सफल कार्यान्वयन तथा भविष्यमा अन्तिम सम्झौताका प्रावधानहरूको पालना सुनिश्चित गर्न एक कार्यकारी संयन्त्र स्थापना गर्ने सहमति गरेका छन्।

१३.यस समझदारीपत्रमा हस्ताक्षर भएपछि, र यसका बुँदा १, ४, ५, १० र ११ को कार्यान्वयन सुरु भई निरन्तर जारी रहेमा, संयुक्त राज्य अमेरिका र इस्लामिक गणतन्त्र इरानले अन्य बुँदासम्बन्धी अन्तिम सम्झौताका लागि विशेष रूपमा वार्ता सुरु गर्नेछन्।

१४. अन्तिम सम्झौतालाई संयुक्त राष्ट्र सुरक्षा परिषद् (UNSC) को बाध्यकारी प्रस्तावमार्फत अनुमोदन गरिनेछ।

एजेन्सीको सहयोगमा

 

Leave Your Comment

Related News