CLI

राहदानी छपाइ प्रकरणमा बयानका लागि आरजुलाई अख्तियारले जारी गर्यो सूचना

काठमाडौं । आरजु राणा देउवा लाई राहदानी छपाइसँग सम्बन्धित भ्रष्टाचार मुद्दाको अनुसन्धानका क्रममा बयानका लागि उपस्थित हुन अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले सूचना जारी गरेको छ। आयोगले बुधबार बूढानीलकण्ठस्थित देउवा निवासमै पुगेर तीन दिनभित्र उपस्थित हुनुपर्ने भन्दै म्याद तामेल गरेको थियो ।

आयोगले सार्वजनिक गरेको सूचनाअनुसार राहदानी छपाइसम्बन्धी कार्यमा भ्रष्टाचारजन्य कसुर गरेको भन्ने उजुरीमाथि भइरहेको अनुसन्धानका क्रममा आरजु राणा देउवासँग बयान लिन आवश्यक परेको जनाएको छ।

सूचनामा ललितपुरको नागरिकता नम्बर १८६० भएकी आरजु राणा देउवालाई सूचना बुझेको वा घरदैलोमा टाँस भएको मितिबाट बाटोको म्याद बाहेक तीन दिनभित्र आयोगको महाशाखा नं. १२, कोठा नं. १२, टंगाल, काठमाडौंमा उपस्थित हुन भनिएको छ।

आयोगले तोकिएको अवधिमा उपस्थित नभए कानुनबमोजिम प्रक्रिया अघि बढाइने चेतावनी पनि दिएको छ।

राहदानी छपाइ तथा खरिद प्रक्रियासम्बन्धी उजुरीमाथि आयोगले अनुसन्धान गरिरहेको छ। उक्त प्रकरणमा विभिन्न व्यक्ति तथा सरोकारवालासँग बयान लिने क्रम जारी रहेको आयोगले जनाएको छ।

Leave Your Comment

Related News