CLI

दीपक भट्टको ६ करोड पर्ने गाडी,अमेरिकी डलर र थाईभाट ‘जफत’ गरिदै

काठमाडौं । सम्पत्ति शुद्धीकरणको कसुरमा थुनामा रहेका दीपक भट्टको सम्पत्ति नियन्त्रणमा लिने भएको छ ।

विशेषका अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्यहरू उमेश कोइराला र विदुर कोइरालाको इजलासले विभिन्न तह सिर्जना गरी गरेको कारोबार तथा हिमालयन लार्ज क्याप फन्डका सिइओको बयानलगायतलाई आधार मान्दै जेल पठाउने आदेश गरेको छ । पछि प्रमाण परीक्षण गर्दै जाँदा ठहरेबमोजिम हुने गरी तत्कालका लागि भने थुनामै राखी पुर्पक्ष गर्नुपर्ने आदेशमा उल्लेख छ ।

उक्त इजलासले बरामद भएको गाडीलाई कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागमा पठाउन र बाँकी दसीका सामानलाई जिन्सी शाखामा आम्दानी बाँध्नसमेत भनेको छ । यसैगरी, बरामद भएका थाई भाट र अमेरिकी डलर भने नेपाल राष्ट्र बैंकमा पठाउने आदेश भएको छ ।

अदालतको उक्त आदेशसँगै भट्टसँग भएको ६ करोड ३० लाख मूल्य पर्ने ०१–०३३ च १ नम्बरको गाडीलाई कसुरजन्य सम्पत्ति व्यवस्थापन विभाग पठाउने भएको हो । साथै २० वटा १०० दरका अमेरिकी डलर र १ हजार दरका १० थाइभाट नेपाल राष्ट्र बैंकले नियन्त्रणमा राख्ने भएको छ ।

विशेष अदालतका प्रवक्ता कृष्णशरण लामिछानेका अनुसार भट्टको गाडी जफत भन्दा पनि नियन्त्रणमा लिन लागिएको हो । अदालतले गाडी नियन्त्रणमा लिनका लागि कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागलाई पत्र पठाएको छ । यता विभागले उक्त पत्र बुझी पदाधिकारीहरु भट्ट निवासतर्फ लागेका छन् ।

त्यस्तै अदालतले विदेशी मुद्रा अर्थात् अमेरिकी डलर र थाईभाट पनि नियन्त्रणमा लिनको लागि राष्ट्र बैंकले पत्र दिएको छ । लामिछानेका अनुसार भट्टसँग रहेको २ हजार अमेरिकी डलर (३ लाख ३ हजार १ सय आजको विनियमदर अनुरुप ) र १० हजार थाइभाट (४६ हजार ५ सय आजको विनिमयदर अनुरुप) नियन्त्रणमा लिन लागिएको हो ।

भट्टले आफू र परिवारका सदस्य विदेश आउजाउन गरिरहेन हुँदा विदेशी मुद्रा आफूसँग हुने गरेको बताएका थिए । भट्टले आफू तथा परिवारजन विदेश आउजाउ गरिरहने भएकाले त्यसै वेलादेखिको विदेशी मुद्रा आफूसँग रहेको, विदेशी मुद्रा अपचलन नगरेको, कानुनबमोजिम बाहेक कुनै पनि कम्पनीमा लगानी नगरेको, बिमा कम्पनीको पासवर्ड लिई कुनै कारोबार नगरेको र नेपाल रिइन्स्योरेन्सको कुनै पनि संवेदनशील सूचना नचुहाएको बयान गरेका छन् । ‘सेयरको मूल्य प्रभावित गर्ने, सर्कुलर ट्रेडिङ गर्नेजस्ता कार्यमा म कहीँकतै संलग्न छैन,’ बयानमा उनले भनेका छन् ।

Leave Your Comment

Related News