काठमाडौं । राष्ट्रिय सभा विकास, आर्थिक मामिला तथा सुशासन समिति ले चिया किसान तथा चिया बगानमा कार्यरत श्रमिकहरूको समस्या तत्काल समाधान गर्न सरकारलाई निर्देशन दिएको छ।
बिहीबार बसेको समितिको बैठकले चिया क्षेत्रका देखिएका समस्या यथाशीघ्र सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएको हो।
समिति सभापति कृष्णप्रसाद पौडेल ले चिया किसान र श्रमिकका समस्यासँगै अलैँची, सुपारी, बेसार, अदुवा, कफीलगायत नगदेबाली उत्पादक किसानका समस्यामा पनि सरकारले विशेष ध्यान दिनुपर्ने बताए।
उनले नगदेबाली उत्पादन गर्ने किसानले उचित मूल्य र सुनिश्चित बजार पाउन नसकेको उल्लेख गर्दै यस्ता बालीको मूल्य निर्धारण र बजार व्यवस्थापनलाई प्रभावकारी बनाउन आवश्यक कानुनी व्यवस्था गर्न सरकारसँग आग्रह गरे।
“चिया किसान र चिया बगानमा काम गर्ने श्रमिकहरूको समस्या तुरुन्त समाधान गर्न समितिको तर्फबाट निर्देशन दिन चाहन्छु,” सभापति पौडेलले भने, “अलैँची, सुपारी, बेसार, अदुवा, कफीलगायत नगदेबालीको मूल्य निर्धारण र बजार व्यवस्थापनका लागि सरकारले प्रभावकारी काम गरोस्। यी बालीहरूको बजार व्यवस्थापनका लागि यही अधिवेशनभित्र कानुन ल्याउन पनि आग्रह गर्दछु।”
चिया क्षेत्रको समस्या चुलिँदै गएका बेला समितिको यस्तो निर्देशन आएको हो। विगत चार दिनदेखि इलामसहित देशभरका चिया उद्योगीहरूले चिया निर्यातमा समस्या देखिएको भन्दै उद्योग बन्द गरेका छन्। उद्योग बन्द हुँदा किसान, श्रमिक तथा चिया व्यवसायमा प्रत्यक्ष असर परेको छ।
समितिले चिया क्षेत्रसँगै अन्य नगदेबालीको उत्पादन, मूल्य र बजार व्यवस्थापनलाई दीर्घकालीन रूपमा व्यवस्थित गर्न आवश्यक नीति तथा कानुनी व्यवस्था अघि बढाउन सरकारलाई सुझाव दिएको छ।


