काठमाडौं । काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले आर्थिक बर्ष २०८३\०८४ को लागि नगर सभाको १९औँ अधिवेशनमा आगामी आर्थिक वर्षका लागि नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरेकी छन् । स्थानीय स्वायत्तता र सक्षमतालाई सुदृढ गर्ने लक्ष्यका साथ महानगरले विकास, शिक्षा र पूर्वाधार केन्द्रित बजेट ल्याएको हो।
बजेट वक्तव्य प्रस्तुत गर्दै कार्यवाहक प्रमुख डंगोलले चालू आर्थिक वर्षको जेठ मसान्तसम्म कुल बजेटको ४५ प्रतिशत मात्र खर्च भएको जानकारी दिइन । जसमा पूँजीगततर्फ ३६.५१ प्रतिशत र चालू खर्चतर्फ ६०.१३ प्रतिशत खर्च भएको छ। यसैगरी जेठ मसान्तसम्म लक्षित राजस्वको ६४.१७ प्रतिशत अर्थात् ९ अरब ६९ करोड रुपैयाँ संकलन भएको छ।
महानगरले आगामी वर्षका लागि पूर्वाधार विकास, फोहोरमैला व्यवस्थापन, विद्यालय शिक्षा प्रणालीमा सुधार, सहरी स्वास्थ्य र पर्यटन तथा सम्पदा संरक्षणलाई उच्च प्राथमिकतामा राखेको छ। विशेष गरी युवाहरूलाई लक्षित गर्दै ‘युवा केन्द्रित स्वरोजगार कार्यक्रम’ का लागि १० करोड रुपैयाँ विनियोजन गरेको छ भने (पढ्दै कमाउँदै) कार्यक्रमलाई निरन्तरता दिएको छ ।
महानगरवासीको स्वास्थ्यलाई ध्यानमा राख्दै क्यान्सर जस्ता असाध्य रोगको निदानका लागि विशेष कार्यक्रम र ज्येष्ठ नागरिकका लागि निमोनिया खोप कार्यक्रम ल्याइएको छ। वातावरण सुधारका लागि महानगरले ‘प्लास्टिक झोलामुक्त काठमाडौँ’ अभियान र वैकल्पिक झोला प्रवर्द्धन कार्यक्रम सञ्चालन गर्नेछ।


