काठमाडौं ।दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युङले उत्तर कोरियाको आणविक कार्यक्रममाथि लगाइएका अन्तर्राष्ट्रिय प्रतिबन्धहरू प्रभावहीन बन्दै गएको बताउँदै मस्को र प्योङयाङबिचको बढ्दो सैन्य तथा राजनीतिक निकटताले ती प्रतिबन्धको प्रभावकारिता अझ कमजोर बनाइरहेको धारणा व्यक्त गरेका छन् ।
उनले यो विषय अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग हालै फ्रान्समा भएको जी–७ शिखर सम्मेलनका क्रममा छलफल भएको पनि बताएका हुन्।
राष्ट्रपति लीका अनुसार उनले ट्रम्पलाई उत्तर कोरियामाथि लगाइएका प्रतिबन्ध र दबाबले अपेक्षित परिणाम दिन नसकेको स्पष्ट रूपमा जानकारी गराएका थिए। सियोलमा पत्रकारहरूसँग कुरा गर्दै उनले उत्तर कोरियाविरुद्धको वर्तमान नीतिले प्रभाव नपारेको बताउँदै रुससँगको सैन्य सहकार्यका कारण प्योङयाङ अझ बलियो भएको टिप्पणी गरे।
उनका अनुसार युक्रेन युद्धपछि रुस–उत्तर कोरिया सम्बन्ध गहिरिँदा उत्तर कोरियालाई प्राप्त हुने सीमित सहयोग पनि रणनीतिक रूपमा महत्त्वपूर्ण बन्दै गएको छ।
सन् १९५०–५३ को द्वन्द्व शान्ति सम्झौतामा नभई युद्धविराममा टुङ्गिएकाले उत्तर कोरिया र दक्षिण कोरिया प्राविधिक रूपमा युद्धको अवस्थामै रहेका छन्। दुई देशलाई विभाजन गर्ने असैन्यीकृत क्षेत्र आज पनि विश्वकै सबैभन्दा संवेदनशील सीमामध्ये एक मानिन्छ।
यसैबीच, अमेरिकी राष्ट्रपति ट्रम्पले मध्यपूर्वको युद्ध अन्त्यसम्बन्धी सम्झौतामा हस्ताक्षर गरेपछि अब प्रशासनको ध्यान उत्तर कोरियातर्फ केन्द्रित हुन सक्ने अनुमान गरिएको छ। फ्रान्स भ्रमणका क्रममा ट्रम्पले लीसँगको भेटमा ‘अब उत्तर कोरियाको विषयमा ध्यान दिने समय आएको छ’ भनेको बताइएको छ।
ट्रम्पले यसअघि पनि उत्तर कोरियाली नेता किम जोङ–उनसँगको सम्बन्धलाई पुनः स्मरण गर्दै सामाजिक सञ्जालमा पुराना तस्बिर सार्वजनिक गर्नुभएको थियो । उहाँले सन् २०१८ मा सिङ्गापुरमा भएको शिखर वार्ता उल्लेख गर्दै आफू किमसँग पुनः भेटवार्ताका लागि खुला रहेको सङ्केत दिँदै आएका छन्।
यद्यपि, उत्तर कोरियाली नेता किम जोङ–उनले युक्रेन युद्धका क्रममा रुसलाई सैन्य सहयोग बढाएका छन् भन्ने दाबी हाल विभिन्न पक्षबाट उठाइँदै आएको छ । चीन र रुससँग उत्तर कोरियाको सम्बन्ध विस्तार भइरहेको बेला प्योङयाङले आफ्नो आणविक कार्यक्रमलाई निरन्तर ‘अपरिवर्तनीय’ नीति भन्दै आएको छ ।
यसअघि सन् २०१९ मा हनोईमा भएको ट्रम्प–किम शिखर वार्ता आणविक निशस्त्रीकरण र प्रतिबन्ध राहतको विषयमा सहमति नजुटेपछि असफल भएको थियो । त्यसयता दुवै पक्षबीच औपचारिक प्रगति हुन सकेको छैन ।
ट्रम्पले पहिलो कार्यकालमा किमसँग तीन पटक भेट गर्दै सम्बन्ध सुधारको प्रयास गरेका थिए । ती भेटमा उनले किमसँग ‘प्रेममा परेको’ टिप्पणीसमेत गर्नुभएको थियो । तर ती कूटनीतिक प्रयासहरू ठोस सम्झौतामा परिणत हुन सकेका छैनन्।
हाल ट्रम्पले उत्तर कोरियालाई ‘आणविक शक्ति भएको देश’ भन्दै दशकौँदेखि कायम अमेरिकी नीतिभन्दा फरक धारणा राख्नुभएको छ र यसले भविष्यमा वासिङ्टन–प्योङयाङ सम्बन्ध फेरि सक्रिय हुन सक्ने सङ्केत दिएको विश्लेषकहरूले बताएका छन्।


