CLI

अस्ट्रेलियाद्वारा इन्धन अन्तःशुल्क कटौतीको अवधि थप एक महिना विस्तार

काठमाडौं । अष्ट्रेलियाली सरकारले इन्धनमा लाग्ने अन्तःशुल्क कटौतीको अवधि थप एक महिना विस्तार गर्ने घोषणा गरेको छ ।

प्रधानमन्त्री एन्थोनी अल्बानीजले आइतबार वक्तव्य जारी गर्दै आगामी जुलाई १ देखि अगस्ट २ सम्म इन्धन अन्तःशुल्कमा प्रतिलिटर १६ सेन्ट छुट कायम रहने बताएको हो । हाल लागू रहेको प्रति लिटर ३२ सेन्टको छुट उक्त अवधिमा आधा घटाइने र अगस्ट २ पछि पूर्ण अन्तःशुल्क दर प्रति लिटर ५२ दशमलव छ सेन्ट पुनः लागू गरिनेछ ।

मध्यपूर्वको द्वन्द्वका कारण उत्पन्न विश्वव्यापी तेल सङ्कट र इन्धन मूल्यमा आएको तीव्र वृद्धिको प्रभाव न्यूनीकरण गर्न अष्ट्रेलियाको सङ्घीय सरकारले गत अप्रिल १ देखि तीन महिनाका लागि प्रति लिटर २६ दशमलव तीन सेन्ट अन्तःशुल्क कटौती गरेको थियो । उक्त अवधिमा राज्य तथा क्षेत्रीय सरकारले थप पाँच दशमलव सात सेन्ट प्रतिलिटर बराबरको राहत प्रदान गर्न सहमति जनाएका थिए ।

प्रधानमन्त्री अल्बानीजले अर्थमन्त्री जिम चाल्मर्स, ऊर्जामन्त्री क्रिस बोवेन तथा यातायातमन्त्री क्याथरिन किङसँगको संयुक्त वक्तव्यमा इन्धन अन्तःशुल्क कटौती क्रमिक रूपमा फिर्ता गर्दा बढ्दो जीवनयापन खर्चको दबाब सामना गरिरहेका नागरिकलाई राहत पुग्ने बताए ।

वक्तव्यमा भनिएको छ, “आर्थिक तथा इन्धन बजारको स्थायित्व पुनःस्थापित हुन समय लाग्ने भएकाले अन्तःशुल्क कटौतीको अवधि विस्तार गरिएको हो ।”

उनीहरूले हालै पेट्रोलियम पदार्थको मूल्यमा उल्लेखनीय गिरावट आए पनि सर्वसाधारण अझै आर्थिक दबाबमा रहेको स्वीकार गरेका छन् ।

Leave Your Comment

Related News