चितवन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन ले वर्तमान राजनीतिक परिवर्तनको जिम्मेवारी जनताले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), रवि लामिछाने र बालेन्द्र शाह लाई दिएको बताएका छन्।
रास्वपाको प्रथम महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै लिङ्देनले यो अवसर कुनै एक व्यक्ति वा पार्टीका लागि मात्र नभई समग्र देशका लागि ऐतिहासिक भएको बताए।
उनले प्रजातन्त्र स्थापनापछि राजनीतिक दलहरूले जनअपेक्षाअनुसार काम गर्न नसकेको टिप्पणी गर्दै देशमा परिवर्तनको आवश्यकता रहेको बताए। फागुन २१ गतेको निर्वाचनबाट जनताले परिवर्तनका पक्षमा स्पष्ट जनमत दिएको उल्लेख गर्दै उनले त्यसको नेतृत्व गर्ने जिम्मेवारी रवि लामिछाने र बालेन्द्र शाहको काँधमा आएको बताए।
लिङ्देनले यस्तो अवसर राजनीतिक जीवनमा विरलै प्राप्त हुने भन्दै यसलाई सदुपयोग गर्न आग्रह गरे। अवसर गुमे त्यसको असर व्यक्ति वा पार्टीमा मात्र सीमित नरही समग्र देशले भोग्नुपर्ने उनको भनाइ थियो।
उनले पछिल्लो निर्वाचन परिणामले परम्परागत राजनीतिक शैलीलाई चुनौती दिएको उल्लेख गर्दै जनताले सङ्गठन, शक्ति र स्रोतभन्दा परिवर्तनको एजेन्डालाई प्राथमिकता दिएको बताए। जनताले व्यक्त गरेको विश्वासलाई निराशामा परिणत हुन नदिन उनले रास्वपा नेतृत्वलाई आग्रह गरे।
अध्यक्ष लिङ्देनले देशका समस्या केवल नेतृत्वसँग मात्र सम्बन्धित नभई संविधान र राज्य संरचनासँग पनि जोडिएको तर्क गरे। उनले केवल नेतृत्व परिवर्तनले मात्र पर्याप्त नहुने भन्दै प्रणालीगत तथा संरचनागत सुधार आवश्यक रहेको बताए।
राजनीतिक सहकार्यको प्रसङ्गमा उनले निषेधको राजनीति त्यागेर सहमति र सहकार्यको मार्गमा अघि बढ्न सुझाव दिए। लोकतान्त्रिक शक्तिहरूबीच संवाद र सहकार्यबाट मात्र देशलाई सही दिशामा लैजान सकिने उनको भनाइ थियो।
कार्यक्रममा लिङ्देनले राप्रपा सकारात्मक प्रतिपक्षको भूमिकामा रहने पनि स्पष्ट पारे। सरकारले गर्ने सकारात्मक काममा सहयोग र समर्थन रहने तथा गलत कामका विरुद्ध सशक्त खबरदारी जारी राखिने उनले बताए।


